स्थानीय तहबाट गैरकानुनी सिफारिस नगर्न जिल्ला प्रशासनको निर्देशन
१६ वैशाख, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय तहहरूलाई कानुनविपरीत राजस्व छुट तथा बिना रोकावट भन्सार पास गराउन सिफारिस पत्र जारी नगर्न कडा निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय, गृह शाखाद्वारा जारी पत्रमा गौर भन्सार कार्यालयको पत्रको आधारमा खाद्यान्न, लत्ताकपडा, फर्निचर तथा इलेक्ट्रोनिक्स लगायतका सामग्री भारतीय बजारबाट पैठारी गर्न ऐन नियम विपरीत राजस्व छुट तथा बिना रोकावट ल्याउन दिन विभिन्न स्थानीय तह र वडाबाट सिफारिस हुने गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
प्रशासनले यस्ता गैरकानुनी सिफारिस पत्र जारी नगर्न स्थानीय तहलाई सचेत गराउँदै आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई यस्ता सिफारिस नगर्न निर्देशन दिएको छ। यदि कानुनविपरीत सिफारिस जारी गरी राज्यलाई हानि पुर्याएको पाइएमा सम्बन्धित सिफारिसकर्तामाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
जिल्ला प्रशासन कार्यालयले भन्सार कार्यालय गौरलाई समेत यस्ता सिफारिस पत्रहरू नमानी कानुनअनुसार कार्य गर्न पत्राचार गरेको छ।






