समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

   २७ फाल्गुन २०८२, बुधबार १५:११  

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्‌मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् ।

यही फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक प्रणालीतर्फ संयुक्त निर्वाचन चिह्नसहित कुल ५७ दलले भाग लिएकामा ६ दलले संसद्‌मा प्रवेश पाउने अवस्था देखिँदा ५१ दलले न्यूनतम मत सीमा कटाएका छैनन् ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खसेको मतमध्ये कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गरेका दललाई मात्रै सिट बाँडफाँट गरिने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कुल मत संख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उमेदवार प्रतिनिधिसभाको सदस्यमा निर्वाचित हुने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ सदर मत गणना भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार २३५ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख चार हजार ८५४, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख पाँच हजार ७७३, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत पाएका छन् । यीबाहेक अन्य दलले थ्रेस होल्ड कटाउन नसकेका उनले बताए ।

न्यूनतम मत सीमा नकटाउने दलमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय परिवर्तन पार्टी, जनमत पार्टी, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादाी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल), नेपाल मजदुर किसान पार्टी, राष्ट्र निर्माण दल नेपाल, राष्ट्रिय जनमोर्चा, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी), प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा (माओवादी), मंगोल नेशनल अर्गनाइजेशन, एकल चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल) रहेका जिसीले जानकारी दिए ।

त्यस्तै, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, संयुक्त नागरिक पार्टी, स्वाभिमान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय एकता दल, नेकपा (माले), राष्ट्रिय गौरव पार्टी, नेशनल रिपब्लिक नेपाल, नेपालका लागि नेपाली पार्टी, नेकपा मार्क्सवादी (पुष्पलाल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (संयुक्त), राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, गतिशील लोकतान्त्रिक पार्टी छन् ।

त्यस्तै गरी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मातृभूमि पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, बहुजन शक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी, जनअधिकार पार्टी, नेपाल सद्भावना पार्टी रहेका छन् ।

पिपुल फर्स्ट पार्टी, नेपाली कांग्रेस (बीपी), नागरिक शक्ति नेपाल, नेपाल जनश्रमदान संस्कृति पार्टी, नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले थ्रेस होल्ड कटाउन सकेनन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उमेदवारको धरौटी जफत हुन्छ । निर्वाचित उम्मेदवारको हकमा यो कुरा लागू नहुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा कुनै दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था रहेको आयोगका सहप्रवक्ता जिसीले जानकारी दिए ।

उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछन् ।