रौतहटमा फागुन २१ सम्म विदेशी नम्बर प्लेटका गाडी चलाउन नपाइने
१७ फागुन, रौतहट । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आज बाट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम फागुन १७ गते देखि २१ गतेसम्म रौतहट जिल्लाभर विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालन गर्न निषेध गरेको हो ।
सूचनामा निर्वाचन अवधिमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न उक्त निर्णय गरिएको उल्लेख गरिएको छ । आदेश उल्लंघन गर्ने सवारी साधनमाथि प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत चेतावनी दिइएको छ ।






