गौरमा एकता र शान्ती कायम राख्न सर्वपक्षिय बैठकको अपील

   १० फाल्गुन २०८२, आईतवार १४:५७  

१० फागुन, रौतहट । रौतहटको गौरमा भडकिएको हिंसा अन्त्य गर्दै समाजमा एकता र शान्ती कायम राख्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षिय अपील गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा आज बसेको सर्वदलिय र सर्वपक्षिय बैठकले एक अर्काको धार्मिक आश्थाको आदर गर्ने, सहिष्णुता र समझदारी कायम गर्दै आपसी सम्मानका साथ सम्पूर्ण जिल्लावासीलाई शान्ती कायम गर्न अपील गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको अध्यक्षतामा बसेको बैठकमा सुरक्षा अंगका प्रमुखहरु, गौर, राजपुर र परोहा नगरपालिकाका मेयर, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

बैठकले भोलि सोमवार बिहान ७.३० बजे सबगढामा शान्ती र्‍याली आयोजना गर्ने निर्णय समेत गरेको छ । नागरिक समाजको अगुवाईमा हुने उक्त र्‍यालीमा राजनितिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्थानिय सबैलाई सहभागी हुन आवहन समेत गरिएको छ ।

गौर नगरपालिकाको वडा नं. ६ सबगढाबाट शुरु भएको दुई समुदायको विवादले उग्र रुप लिदा शनिवार देखीनै गौर नगरक्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी राखेको छ ।

साम्प्रदायिक दंगा फैलाउन भूमिका खेलेको भन्दै प्रशासनले सबगढाका वडाअध्यक्ष अवध बिहारी साह र पूर्व वडाअध्यक्ष शेख जमसेद सहित २३ जनालाई नियन्त्रणमा राखेको प्रहरी उपरिक्षक सिताराम रिजालले बताए ।