सबगढामा दुई समुदाय बिच झडप, दर्जनौ राउण्ड अश्रुग्यास प्रहार
८ फागुन, रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नं. ६ सवगढाँमा दुई समुदायबीच झडप हुदा सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
बिहीबार राति हिन्दू समुदायको विवाह समारोहका जन्ती बाजागाजासहित गाउँभित्र प्रवेश गरेका बेला बाटो छेउमै रहेको मस्जिदमा मुस्लिम समुदायले नमाजमा अवरोध भएको भन्दै विवाद शुरु भएको थियो । मस्जिदको बाटो हुदै वैवाहिक जन्ती लगेको र सोही समयमा नमाज भएका कारण विवाद शुरु भएर हातपात भएको थियो ।
उक्त घटनापछि परिस्थिति तनावपूर्ण बन्दै गएको र शुक्रबार बिहानदेखि दुवै पक्षबीच पुनः झडप भएको हो। बिहानैदेखि दुवै पक्षबाट ढुंगामुढा भएको स्थानीयले बताएका छन ।

स्थिति नियन्त्रणमा लिन प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको पनि अवश्था सामान्य हुन सकेको छैन । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीक नेतृत्वमा सँयुक्तरुपमा सुरक्षाकर्मीहरु खटाइएको छ । घरका छतहरुबाट ढुङ्गामुढा हुने क्रम अझै पनि रोकिएको छैन । ढुङ्गा लागेर नेपाल प्रहरीका एसपी सिताराम रिजाल सहित सुरक्षाकर्मीहरु सामान्य घाइते भएका छन भने केही स्थानियलाई पनि ढुङ्गाले चोट लागेको छ । अवश्था नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले हाल अवस्था नियन्त्रणमा ल्याउने प्रयास भइरहेको र दुवै पक्षबीच वार्तामार्फत समाधान खोज्ने पहल सुरु गरिएको बताए । उनले सर्वसाधारणलाई संयमित रहन, अफवाहमा नलाग्न तथा शान्ति कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरेका छन ।






