चन्द्रनिगाहपुर–गौर सडकखण्डमा बस दुर्घटना, २ को अवस्था गम्भीर
८ फागुन, रौतहट । रौतहटको चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको यात्रुवाहक बस गौर बसपार्क नजिक दुर्घटनामा परेको छ।
ना ८ ख ८७७३ नम्बरको ‘ऊ शक्ति’ बस सदरमुकाम गौरस्थित नेपाल विद्युत प्राधिकरणको सब–स्टेशन नजिक रहेको ट्रान्सफर्मरको पोलमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा बसमा सवार ९ जना यात्रु घाइते भएका छन्। घाइते सबैको उपचार प्रादेशिक अस्पताल गौरमा भइरहेको अस्पताल स्रोतले जनाएको छ। घाइतेमध्ये गढीमाई नगरपालिका–संग्रामपुर निवासी बस कन्डक्टर ३२ वर्षीय रंजय यादव र गरुडा नगरपालिका निवासी २६ वर्षीय निरज गुप्ता गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि वीरगञ्ज रिफर गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।
चपुरबाट गौरतर्फ आइरहेको अर्को बसलाई ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा बस ट्रान्सफर्मरको पोलमा ठोक्किएको हो। दुर्घटनापछि केही समय सडक आवागमन प्रभावित भएको थियो।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।






