प्रजातन्त्र दिवसको अवसरमा गौरमा वृहद र्याली
७ फागुन, रौतहट । निजी विद्यालयहरुको छाता सँगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल रौतहट प्याबसनले आज भव्यताका साथ ७६ औं प्रजातन्त्र दिवस मनाएको छ ।
सदरमुकाम गौर को राईस मिल बाट बिहान शुरु भएको प्रभात फेरीले विपी चोक हुदै भन्सार कार्यालय सम्म पुगेर पुनः राइसमिलमा फर्किएको थियो । गौरमा प्याबसन सँग आवद्ध रहेका निजी विद्यालयहरु सहभागी भएको सो र्यालीमा विभिन्न भेषभुषा सहितको झाँकी समेत प्रदर्शन गरिएको थियो । बिहान ८ बजे बाट शुरु भएको सो र्याली मा झण्डै पाँच हजार सहभागीहरु रहेका थिए ।
प्रजातन्त्रका लागी प्राणको आहुती दिने वीर शहिदको सम्झनामा निकालीएको सो र्याली मा राष्ट्रियता झल्काउन ठूलो मात्रामा राष्ट्रिय झण्डा प्रयोग गरिएको थियो । र्याली अवधी भर प्रत्येक विद्यार्थीले राष्ट्रिय ध्वजा बोक्दै झण्डा बाडेका थिए । विद्यार्थी तथा स्थानीयहरुमा राष्ट्रियताको भावना जगाउनका लागी झण्डाको प्रयोग गरिएको प्याबसनले जनाएको छ ।
राष्ट्रियताको सम्मानका साथै एक दिनका लागी भए पनि हाम्रो झण्डा सबैले बोकुन भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको तथा आजको कार्यक्रममा चार हजार भन्दा बढी झण्डा बाडिएको प्याब्सनले जनाएको छ । कार्यक्रममा सदरमुकाम गौरका निजी तथा आवासीय विद्यालयका सँस्थापक तथा शिक्षकहरु समेतको उपस्थीति रहेको थियो ।
नगर परिक्रमा पश्चात गौर राइसमिलमा आयोजित सभामा प्रजातन्त्रका लागी प्राण अर्पण गर्ने शहिदहरु प्रति सम्मान तथा श्रद्धान्जली व्यक्त गर्दै प्याब्सनका केन्द्रीय सदस्य असित कुमार वैद्य, वरिष्ठ सल्लाहकार गौतम श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकका मेयर शम्भू साहले नेपाली जनताको पटक पटकको आन्दोलनका बारेमा चर्चा गरेका थिए ।






