रौतहटमा निर्वाचन सुरक्षा कडा, चारै क्षेत्रमा सेना तैनाथ

   २२ माघ २०८२, बुधबार १७:०९  

२१ माघ, रौतहट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै रौतहट जिल्लामा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ। निर्वाचनलाई शान्त, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन नेपाली सेना चारवटै निर्वाचन क्षेत्रमा परिचालन गरिएको हो।

नेपाली सेनाका अनुसार बुधबारदेखि निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा सेना खटाइएको छ। गौरस्थित पुरेनवा नारायणदल गणबाट एक जना मेजरको नेतृत्वमा प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज तैनाथ गरिएको छ। एक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था गरिएको जानकारी दिइएको छ।

सेनालाई मतदान प्रक्रिया सुरु हुनु अगावै परिचालन गरिएको र मतगणना सम्पन्न भई अन्तिम नतिजा सार्वजनिक नहुँदासम्म सम्बन्धित क्षेत्रमा नै रहने बताइएको छ। निर्वाचन अवधिभर सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिने जनाइएको छ।

राजनीतिक दृष्टिले संवेदनशील मानिने रौतहटमा विगतका निर्वाचनहरूमा तनाव, झडप तथा विभिन्न सुरक्षा चुनौती देखिँदै आएका छन्। यिनै अनुभवका आधारमा यसपटक राज्यले सुरक्षा रणनीतिलाई कडा बनाएको हो। सुरक्षामा सेनाको उपस्थितिले मतदाता, उम्मेदवार तथा निर्वाचन कर्मचारीलाई थप विश्वास दिलाउने अपेक्षा गरिएको छ।