मतदाता रिझाउन कतै उखु बोक्दै, कतै जलेबी पकाउँदै ऋषि धमला
८ माघ, रौतहट । ऋषि धमला अब पत्रकार रहेनन् । उनी अनायास राजनीतिमा होमिँदै आउँदो आमनिर्वाचनमा रौतहट ४ बाट उम्मेदवार बनेका छन् ।
पत्रकारितामा धमलाको अनुपस्थितिले ठूलो रिक्तता सिर्जना गर्ने पक्का छ । उनले जनतालाई सूचनासँगै ‘मनोरञ्जन’ पनि दिँदै आएका थिए । उनका राजनीतिक अन्तरवार्ताबाट पनि दर्शकले मनोरञ्जन पाउँथे । अतिथिलाई अन्टसन्ट प्रश्न सोधेर भए पनि आफ्ना अन्तरवार्ता भाइरल बनाउन खप्पिस थिए । प्रश्न नफुरेपछि जोसुकै अतिथिलाई गीत गाउन लगाउने उनको शैली आफैँमा मौलिक थियो ।
राजनीतिमा आएपछि पनि धमला आफ्नै शैलीमा पेश हुन थालेका छन् । मनोनयनका दिन उनी चुनावै जितेजसरी फुलमालाले पुरिएका थिए । र्यालीमा हिँड्दा पनि अनुहार ढाकिने गरी माला लगाएका हुन्छन् ।
धमलाको भोट माग्ने शैली अन्य उम्मेदवारहरूभन्दा नितान्त भिन्न देखिएको छ । सार्वजनिक भएका भिडिओहरूमा कतै उनी आफ्ना मतदाताहरूलाई अंगालोमा च्यापेर रोइरहेका देखिन्छन् त कतै उनीहरूको काममा सहयोग गरिरहेका । धमलाले आराले काठ चिरेको, किसानको खेतमा पुगेर उखु बोकेको, जेरी पकाएको, साइकल चलाएको लगायतका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । भाषणमा टुटेफुटेको मैथली भाषामा बोल्न खोजेर पनि उनले मतदातालाई पगाल्ने कोसिस गरिरहेका छन् ।
आफूलाई थुप्रै पार्टीले अफर गरिरहेको बताउने धमलाले उम्मेदवारी भने कमजोर पार्टीबाट दिए । आम जनता पार्टीको नेतृत्व प्रभु साहले गरेका छन् । यो पार्टीमा उनकै पत्नी एलिजा गौतम उपाध्यक्ष छिन् । एलिजालाई पार्टीले समानुपातिक सूचीमा पहिलो नम्बरमै राखेको छ । आम जनता पार्टीले पहिलो पटक चुनावमा भाग लिएको हो ।
रौतहट ४ मा चुनाव जित्न भने धमलालाई सहज छैन । यहाँ २०७४ र ७९ को चुनाव कांग्रेसले जितेको थियो । दुवै निर्वाचनमा कांग्रेसका देवप्रसाद तिमिल्सिना विजयी भएका थिए । अघिल्लो चुनावमा एमालेका उद्धवप्रसाद रेग्मीलाई हराउँदै तिमिल्सिनाले जित निकालेका हुन् ।
२०७९ मा समानुपातिकतर्फ पनि कांग्रेसले नै सबैभन्दा बढी १४ हजार २१८ भोट ल्याएको थियो । एमालेलाई ११ हजार २३१ मत र माओवादी केन्द्रलाई ९ हजार ३१९ मत आयो । चौथो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीलाई ९ हजार १७९ भोट प्राप्त भएको थियो ।
यस्तै, जसपा नेपालले ६ हजार २०८ र रास्वपाले ५ हजार ७०७ मत ल्याएका थिए । त्यसबेला तेस्रो र चौथो स्थानमा रहेका माओवादी केन्द्र र नेकपा एस मिलेर अहिले नेकपा बनेको छ । यदि उनीहरूका मतदाता पनि एक ठाउँमा आए भने सबैभन्दा बढी मत नेकपाको हुने देखिन्छ ।
यस पटक धमलाको प्रतिस्पर्धीका रूपमा कांग्रेसबाट दुईपटक जितेका उनै तिमल्सिना छन् । एमालेले रामजी साहलाई टिकट दिएको छ भने नेकपाले रामकुमार भट्टराईलाई । भट्टराईले २०७० को चुनाव यही क्षेत्रबाट जितेका थिए ।
यो क्षेत्रमा अहिले पनि कांग्रेस, एमाले र नेकपा नै प्रमुख प्रतिस्पर्धामा देखिन्छन् । समग्र रौतहटमा प्रभु साहको प्रभाव रहेको हुँदा धमलाले यो क्षेत्र रोजेका हुन सक्छन् । चुनाव जित्नका लागि भने उनले निकै पापड बेल्नुपर्ने छ । धमला चुनाव हारेमा फेरि पत्रकारितामा फर्किन्छन् भन्ने अनुमान धेरैले गरेका छन् ।






