सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको बस भएको आशंका

   २७ पुष २०८२, आईतवार ११:३३  

२७ पुस, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

सो बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ । प्रहरी पठाएर त्यसबारे यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।

उक्त स्थानमा तनहुँ र चितवन दुबैतर्फका प्रहरी जाँदै छन् । पुग्न कठिन हुने अप्ठ्यारो ठाउँमा टिनजस्तो वस्तु देखिएकोले प्रहरीले पुगेर बस हो होइन यकिन गर्न नसकिएको उनले जानकारी दिए ।

२०८१ असार २८ गते काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो । ती बस अहिलेसम्म भेटिएको छैन ।

बालुवामा पुरिएको अवस्थामा अवशेष भेटिएको छ । गत वर्ष त्रिशूलीमा खसेर दुई वटा डिलक्स बस हराएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार २५ जनाको शव भेटिएको थियो भने, ४० जना बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार चितवनतर्फबाट त्रिशूली किनारको पारिपट्टी झाडीमा बालुवाले पुरिएको अवस्थामा उक्त वस्तु देखिएको हो ।