सुनको मूल्य हालसम्मकै उच्च

   १३ पुष २०८२, आईतवार ११:४१  

१३ पुस, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दा सर्वसाधारण उपभोक्ता र व्यवसायी दुवै दबाबमा परेका छन्। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च स्तर छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको हो। पछिल्ला केही दिनयता लगातार बढिरहेको सुनको मूल्यले बजारमा खरिद–बिक्री सुस्ताएको व्यवसायीहरू बताउँछन्।

यसअघि शुक्रबार पनि सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। छोटो अवधिमै सुनको भाउमा भएको तीव्र वृद्धिले विवाह, चाडपर्व र लगानी प्रयोजनका खरिदमा असर परेको देखिन्छ।

उता चाँदीको मूल्य पनि आज तोलामा २ सय ७० रुपैयाँले बढ्दै ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।