श्रोत नखुलेको रकम सहित एक व्यक्ति पक्राउ
२६ मंसिर, रौतहट । रौतहटको मौलापुरबाट प्रहरीले श्रोत नखुलेको रकम सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मौलापुर नगरपालिका वडा नं. ३ मा रहेको लालबकैया नदीको बाँधमा प्रहरीले श्रोत नखुलेको ११ लाख भन्दा बढी रकम सहित बारा सिम्रौनगढ वडा नं. ११ निवासी मुन्ना प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो ।
मौलापुर जयनगर सडक खण्डकमा सवारी चेकजाँचका क्रममा जयसवाल पक्राउ परेका हुन । मधेश प्रदेश ०३–०३३प३११० नम्बरको मोटरसाइकलमा सवार जयसवालले मोटरसाइकलमा झुण्डाएको झोलामा एक हजार दरका ८३३ थान, पाँच सय दरका ६२५ थान एक सय दरका १५ थान नोट सहित कुल ११ लाख ४७ हजार रुपैंया सहित इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले पक्राउ गरेको हो ।
जयसवालको साथमा रहेको सो रकमको बारेमा छानबिन गर्दा उनले सो रकमको श्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद भएको नगद सहित जयसवाललाई आवश्यक आवश्यक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याएको प्रवक्ता डिएसपी विष्णु प्रदिप बस्यालले बताए ।
भारतीय बजारमा व्यापारीहरुसँग रहेको नेपाली रुपैंया अवैध रुपले भारतबाट नेपाल तर्फ विभिन्न व्यक्तिहरुले लुकिछिपी बोकेर ल्याउने गरेका छन ।






