आगामी निर्वाचन सम्म गठबन्धन कायम रहन्छ : मुख्यमन्त्री यादव
२१ मंसिर, रौतहट । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी निर्वाचन सम्म मधेश प्रदेशको गठबन्धन कायम रहने बताएका छन ।
रौतहटको गौरमा नेपाली काग्रेंसले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा संचारकर्मीहरु सँग कुरा गर्दै मुख्यमन्त्री यादवले सात दलिय गठबन्धन मजबुत रहेको र एकजुट भएर काम गर्ने बताए । गठबन्धनको छलफलकै आधारमा मन्त्रीमण्डल विस्तार गर्ने समेत उनले बताए ।
स्वागत कार्यक्रममा बोल्दै उनले मधेशमा रहेको बेथितिको अन्त्य गर्न आफुले ठोस कदम चाल्ने बताए । “यस प्रदेशमा रहेका बेथितिहरु हटाएर सुशासन कायम गर्ने मेरो पहिलो प्राथमिकता रहेने छ ।” मुख्यमन्त्री यादवले भने “प्रदेशको विकासका लागी सबै किसिमका चुनौतीहरुको सामना गर्दै म अगाडी बढनेछु ।”

उनले मधेशमा समस्याको चाङ्ग रहेको चुनौतीहरुलाई पार गर्दै रोकिएका विकासका योजनाहरु अगाडी बढाउने र नयाँ योजना तथा रणनितिलाई अगाडी ल्याउने बताए । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर आफुले काम गर्ने समेत उनले बताए ।
मधेश प्रदेशको छैंठौ मुख्यमन्त्रीको रुपमा कार्यभार सम्हाले पछि आज गृहजिल्ला रौतहटका आएका यादवले विभिन्न शक्तिपीठहरुमा पूजा अर्चना समेत गरेका छन ।
मुख्यमन्त्री यादवलाई स्थानियहरुले जिल्लाका अलग अलग स्थानमा कार्यक्रम आयोजना गरेर सम्मान गरेका छन ।






