मेयर साहद्धारा गौरको घण्टाघर उद्घाटन

   ३ कार्तिक २०८२, आईतवार १६:५८  

२ कार्तिक, रौतहट । गौरमा निर्माण सम्पन्न भएको घण्टाघरको आज औपचारिक उदघाटन सम्पन्न भएको छ ।

गौर नगरपालिकाका मेयर शम्भु साहले रिबन काटी घण्टाघर उद्घाटन गर्दै यस ऐतिहासिक संरचनालाई गौरवको प्रतीकका रूपमा संरक्षण गर्न सबै नगरवासीलाई आग्रह गरेका छन्।

उदघाटन कार्यक्रमको सुरुवातमा मेयर साहले घण्टाघरको मध्य भागमा स्थापित माता दुर्गाको प्रतिमामा माला र अविर चढाउँदै गौरको शान्ति, समृद्धि र एकताको कामना गरे। उनका अनुसार, घण्टाघर केवल संरचना नभई गौरको सांस्कृतिक र धार्मिक आस्थाको केन्द्र पनि बनेको छ।

गौर नगरपालिकाले २०७९ चैत २७ गते राष्ट्र निर्माण सेवा राजदेवीसँग १ करोड ५३ लाख ६० हजार ६१६ रुपैयाँमा घण्टाघर निर्माण सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०८१ पुस ३० गते निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो।

पहिले वीपी कोइरालाको शालिक रहेको स्थानमा जेनजी आन्दोलनका क्रममा प्रतिमा भत्काइएपछि अहिले त्यहाँ माता दुर्गाको मूर्ति स्थापना गरिएको छ। त्यसयता स्थानीयबासीले नियमित पुजा–पाठ गर्दै यस स्थललाई दुर्गा मन्दिरको रूपमा पनि मान्ने गरेका छन्।

मेयर साहले गौर नगरको ऐतिहासिक सम्पदाको संरक्षण र शहरको द्रुत गतिमा विकासका लागि सबै नगरवासीको सामूहिक भूमिका आवश्यक रहेको उल्लेख गरे।

उद्घाटन कार्यक्रममा उप–मेयर कोशिला देवी, शिवशंकर यादव, लालबाबु जयसवाल, हरिश्चन्द्र पाण्डे, विनोद जयसवाल लगायतका वडाध्यक्ष, स्थानीय अगुवा तथा बासिन्दाहरूको उपस्थिति रहेको थियो।