सशस्त्रका घुमुवाको सेटिङ्ग, कारवाहीमा भने अधिकृतहरु

   १२ भाद्र २०८२, बिहीबार १५:११  

१२ भदौ, रौतहट । रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा गत २९ साउनमा सशस्त्र प्रहरीले छापा मार्दा बरामद भएको सामानको परिमाण नमिलेको भन्दै अहिले सशस्त्र प्रहरी बल नम्बर ११ गणका अधिंकाश अधिकारीहरु तनावमा छन ।

शिवनगरमा उपेन्द्र सहनीको घरमा ठूलो परिमाणमा अवैध चिनी लगायतका सामग्री भण्डारण भएको सूचना सशस्त्र प्रहरीका घुमुवाहरुले केन्द्रीय कार्यालयमा पुर्‍याएका थिए । सशस्त्रका घुमुवा रोशन मिश्रा, गगनदेव साह र रविकान्त मिश्रा सहितको टोलीले शिवनगरमा रहेको सो गोदाम भित्र पुगेर भिडियो बनाएका थिए । भिडियो बनाइसके पछि बाहिर निस्कीएर उनीहरुले व्यापारीसँग बार्गेनिङ्ग समेत गरेका थिए ।

नाम नबताउने शर्तमा एक व्यापारीले भने “उनीहरुले गोदाममा भण्डारण भएको सामाग्रीको भिडियो बनाइसकेकोले अब रकम नदिए छापा मार्न लगाउने धम्की दिए ।” आफुहरु हेडक्वाटरबाट आएको टोली हो भन्दै उनीहरुले व्यापारीसँग ठूलै रकम लिएको श्रोतको दाबी छ । श्रोत भन्छ “ती घुमुवाहरुको त्यो दिनको मोबाइल लोकेसन र कल डिटेलको अनुसन्धान गर्ने हो भने सबै कुरा छर्लङ्ग हुन्छ ।”

गरुडाकै एक होटेलमा उनीहरुले रकम लिएर खाजा समेत खाएपछि सो भिडियो हेडक्वार्टरमा पठाएका थिए । घुमुवाहरुले रकम बुझेपछि सो गोदामबाट सामान हटाउने अवसर समेत दिएका थिए । प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामा सहितको टोली गौरबाट हिडनु अघिनै ७० प्रतिशत भन्दा बढी सामान त्यहाँबाट गायब भइसकेको थियो ।

सहनीको सो घरमा भन्सार छलेर ल्याइएको ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको भिडयो सहितको सूचना घुमुवा मार्फत सशस्त्रको हेडक्वाटरमा पुगेको थियो । घुमुवाहरुले पठाएको सो भिडियो हेडक्वाटर पुगे पछि छापा मार्न सशस्त्र प्रहरी बलका आइजीपीले नै निर्देशन दिएका थिए ।

हेडक्वाटरको निर्देशन चिनी भण्डारण गरिएको ठाउँमा छापा मार्न सशस्त्र प्रहरी बल दुधियाभार बेसका सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र लगेजुको कमान्डमा सशस्त्र प्रहरी बलको टोली पुगेर अवैध सामान आशंका गरिएको घरलाई घेरा हालेको थियो ।

लागेजुको टोली पुगेपछि सशस्त्र बेस सन्तपुरका डिएसपी राजेन्द्र बस्नेत, सशस्त्र बेस देवाहीका प्रहरी निरीक्षक दधिराम पौडल र ११ नम्बर गणका प्रहरी निरीक्षक गणेश बोहराको नेतृत्वमा सशस्त्र प्रहरी बलको टोलीले घेरा हालेर विभिन्न कानुनी प्रक्रिया पूरा गरेको थियो । शिवनगरमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको ठाउँमा मुचुल्का टोली लिएर पुग्न माथिल्लो निकायबाट निर्देशन आएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामा करिब साढे ४ बजे पुगेका थिए ।

घुमुवाको बदमासीको शिकार अहिले प्रहरी अधिकृतहरु बनिरहेका छन । भिडियोमा करिब ७ सय बोरा चिनी लगायतका सामाग्री देखिए पनि घुमुवाहरुले रकम बुझेर सामानको परिमाण कम गर्न सहयोग गरेका थिए । छापा मार्दा बरामदी १ सय २० बोरा मात्रै भएको देखाइएको विषयमा सशस्त्र प्रहरी बल मुख्यालयले अहिले अधिकृतहरूमाथि छानबिन गरिरहेको छ ।

सशस्त्र प्रहरीले गोदामलाई घेरा हालेको करिब दुई घण्टापछि डिएसपी लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका नासु शम्भु राउत, गौर भन्सारका नासु दिनेश कुमार घिमिरे, राष्ट्रिय अनुसन्धानका वरिष्ठ अनुसन्धान सहायक हरिकिशोर सहनी, वडाध्यक्ष रामबाबु प्रसाद चौधरी र वडा सदस्य शम्भु राय यादवको टोली पुगेको थियो । टोलीले मुचुल्का गर्दा चिनी १०६ बोरा, सर्फ १० बोरा, रासायनिक मल १० बोरा, सिमेन्ट ९ बोरा बरामद गरी भन्सार चलान गरेको थियो ।

हेडक्वार्टरले घटनाको भोलिपल्ट डिएसपी लामासहित डिउटीमा खटिएका करिब १८ जनालाई सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीमा हाजिर गराएको थियो ।

अनुसन्धानको क्रममा करिब ३ दिन बाहिनीमै राखेर डिएसपी लामालाई हेडक्वाटर पठाइएको छ । अनुसन्धानको लागि बाहिनीमा बोलाइएका बाँकी १७ सशस्त्र प्रहरी कर्मचारीलाई फिर्ता गरिएको छ । सो घटनामा दुधियाभारका प्रहरी निरीक्षक लगेजुलाई नसित कारबाही गरिएको मुख्यालय स्रोतको दाबी छ ।

सशस्त्र प्रहरी प्रवक्ता शैलेन्द्र थापाका अनुसार, तस्करीत सामानलाई सुरक्षित स्थानमा पुर्‍याउन मद्दत गर्ने क्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षक समेत संलग्न रहेको प्रमाण भेटिएको छ । डीएसपी लामा मात्रै होइन, अहिले यो प्रकरणमा अन्य थप १७ जनामाथि अनुसन्धान अघि बढाइएको सहप्रवक्ता थापाले बताएका छन ।

यसै प्रकरणमा हेडक्वाटरले रौतहटका सशस्त्र प्रहरी उपरिक्षक सन्तोष बस्नेत सँग पनि सोधपुछ गरेको छ । एसपी बस्नेतलाई हेडक्वाटरमै बोलाएर सोधपुछ गरिएको हो ।

सिमाक्षेत्र भन्दा ३० किलोमिटर भित्रको बजारमा त्यती ठूलोमात्रामा अवैध सामान भण्डारण हुनुमा प्रहरी प्रशासनका उच्चअधिकारीहरुको पनि मिलेमतो रहेको छ ।

यसरी सशस्त्र प्रहरीका घुमुवाहरुले पुरै संगठनलाईनै दाग लगाउने काम गरेका छन । सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी र सशस्त्र प्रहरी बल हेडक्वार्टरको नाममा सई ज्ञानेन्द्र आलेमगर, सशस्त्र प्रहरी हवल्दार रोशन मिश्रा, राजीव यादव, रविकान्त मिश्रा र प्रहरी सहायक हवल्दार गगन देव साहले विभिन्न नाकाहरुमा सादा पोशाकमा खटि तस्करी गराए बापत लाखौं रुपैयाँ असुल्दै आएका छन ।