गौरका युवकलाई बंगलादेशी युवतिको हनी ट्रापमा पार्ने प्रयास, परिवार आतंकित
२९ साउन, रौतहट । सामाजिक सञ्जालमार्फत चिनजान भएकी एक बंगलादेशी युवतिले गौरका एक युवकलाई धम्की र दबाबमा पारेर मानसिक यातना दिएको आरोप लागेको छ ।
गौर नगरपालिका वडा नं. ६ का मह्मद महताब आलमले आफुसंग अनलाइन बिहे गरेको भन्दै गौर आइपुगेकी बगंलादेशी युवतिको बारेमा अनुसन्धान गर्न परिवारजनले आग्रह गरेका छन ।
आफुहरुले अनलाइन बिहे गरेको दाबी सहित घरमा बस्न आएकी ती युवति संग सामाजिक संजालमा आफ्नो भाइको कुराकानी भएको तर भाइ अहिले सम्म कहिले पनि बंगलादेश नगएको महताबका दाजु आफताबले बताए । युवतिको देशमै नगएको मान्छेले कसरी बंगलादेशको अदालतमा अनलाइन बिहे गर्न सक्छ भन्दै उनले प्रश्न गरे ।
पीडित युवकका दाजु आफताबका अनुसार युवतिको निरन्तर दबाब र घरमै जबरजस्ती बस्ने प्रयासका कारण उनका परिवार त्रासमा परेको हो । पहिलो पटक केही महिना अघि गौर आएकी उक्त युवतिलाई सो समयमा सम्झाइ बुझाइ गरि बंगलादेश फर्काएकोमा पुन उनी गौर आएको मोहम्द आफताबले बताए ।
नेपाल पत्रकार महासंघ रौतहट शाखामा पत्रकार सम्मेलन गर्दै पीडित युवका दाजु मोहम्द आफताबले आरोप लगाउँदै भने, “युवतिले अनलाइन बिहेको बहाना बनाएर घरमै बस्न खोजिन्। हामी डराएका छौं, त्यसैले घरमा ताल्चा लगाएर अन्यत्र बस्न बाध्य भयौं। प्रशासनले निष्पक्ष छानबिन गर्नुभन्दा उल्टै हामीलाई मानसिक दबाब दिएको छ।”
उनका अनुसार बंगलादेशी युवती प्रत्येक दिन भारतको बैरगनिया आवतजावत गर्दै आएकी छिन्, जसले उनको गतिविधिप्रति थप शंका उत्पन्न भएको छ । आफताबले युवतीको पहिचान र गतिविधिबारे तत्काल छानबिन गर्न माग गर्दै भने, “हामीलाई शान्ति सुरक्षा चाहिएको हो, धम्की होइन । हनी ट्रापमा पार्न खोज्ने व्यक्तिमाथि कारबाही होस्।”
यस घटनाले सीमावर्ती क्षेत्रमा विदेशी नागरिकको आवतजावत र सामाजिक सञ्जालमार्फत हुने हनी ट्रापका घटनाप्रति गम्भीर प्रश्न उठाएको छ।






