रौतहट उद्योग वाणिज्य संघमा भाडभैलो, सदस्यले आफै बाडे पद
२९ साउन, रौतहट । रौतहट उद्योग वाणिज्य संघमा नयाँ कार्यसमिति गठन भएलगत्तै नेतृत्व विवाद गहिरिँदै गएको छ। अध्यक्ष रवि गोपालीको मनोमानी र पद बाँडफाँडमा ढिलाइका कारण संघभित्र गम्भीर विभाजन देखिएको छ।
अध्यक्ष गोपालीले पदभार वितरणको प्रक्रिया अघि नबढाएपछि असन्तुष्ट समूहले आफ्नै पहलमा उद्योग वाणिज्य संघका प्रमुख पदहरू घोषणा गरेको छ। अध्यक्षको सहमति बिना उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव र सहसचिव पद बाँडफाँड गरिएको घटनापछि संघभित्रको असन्तुष्टि सतहमा आएको हो।
महासचिव संतोष केशरीले अध्यक्षले चुनावअघि भएको सहमति तोडेको आरोप लगाउँदै भने, “अध्यक्षको कमजोर नेतृत्व र मनोमानीका कारण संघको छवि धुमिल बन्दै गएको छ। पद बाँडफाँडमा अध्यक्षको ढिलासुस्तीले हामी बाध्य भएर आफैं जिम्मेवारी घोषणा गर्नुपर्यो।” आफुहरुले बहुमत सदस्यको आधारमा पहिले नै अध्यक्ष रवि गोपालीले गरेको सम्झौता बमोजिमनै पद विभाजन गरेको उनले बताए ।
चुनावमा प्यानलनै बनाएर अगाडी बढेको रवि गोपालीको समूह निर्वाचित भए पछि आन्तरिक विवादमा फसेको थियो । अध्यक्षले सहमति अनुसार पद दिन नमान्ने र संतोष केशरीको समूहले पूर्व सहमित भन्दा पछाडी नहटने अडान लिएपछि अध्यक्ष गोपालीले पद बाडफाडमा ढिलाइ गर्दै आएका थिए ।
अहिले अध्यक्ष गोपाली र महासचिव केशरीको समूहले आफुखुशी सदस्यहरु मनोनित गरेको भन्दै संघको लेटरप्याड प्रयोग गरिरहेका छन । सहमति अनुसार दुवै पक्षले एक एक जना मनोनित गर्ने भने पनि अहिले दुई दुई जनालाई मनोनित गरेको सूचना सामाजिक संजालमा हालेका छन ।
संघका अन्य पदाधिकारी र सदस्यहरूले समेत अध्यक्षले कार्यसमिति सञ्चालनमा समन्वय नगरेको र साझा सहमतिको संस्कृति भंग गरेको आरोप लगाएका छन्। उनीहरूले पद बाँडफाँड प्रकरणलाई संस्थागत असफलताको उदाहरण भन्दै चासो व्यक्त गरेका छन्।
दुवै पक्ष अडानमै, समाधान अनिश्चित
अध्यक्ष गोपाली पक्षले पद बाँडफाँड प्रक्रियामा सदस्यहरूको हतारो अनुचित भएको तर्क गरेको छ भने असन्तुष्ट पक्षले चुनावअघि भएको सहमति कार्यान्वयन नभएसम्म पछि नहट्ने स्पष्ट पारेको छ। दुवै पक्ष आफ्नो अडानमा अडिग रहेकाले विवाद समाधानमा तत्काल प्रगति हुने सम्भावना देखिँदैन।
विवाद चाँडै समाधान भएन भने संघको नेतृत्व क्षमता कमजोर हुने र उद्योग–व्यापार क्षेत्रमै संस्थागत संकट देखा पर्न सक्ने जोखिम बढेको छ।
रौतहट उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनमा रवि गोपाली अध्यक्षमा निर्विरोध चयन भएका थिए। चुनावअघि पद बाँडफाँडबारे साझा सहमति भएको भनिए पनि सपथग्रहण कार्यक्रम पछि त्यो सहमति कार्यान्वयन गर्न अध्यक्ष गोपालीले आनाकानी गर्दै टार्न खोजेपछि विवाद चर्किएको हो।






