पर्सामा खाल्डोमा डुबेर दाजुभाइको मृत्यु
२७ साउन, रौतहट । पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरमा खाल्डोमा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन्। उनीहरू मनोज कठायतका छोरा हुन्।
वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार, मंगलबार बिहान विद्यालय जानुअघि घर नजिकैको डेढु खोलामा दुवै दाजुभाइ नुहाउन गएका थिए। खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा प्रवेश गर्दा उनीहरू डुबेका हुन्।
घटनापछि स्थानीयले पानीमा तैरिरहेको अवस्थामा दुवैलाई निकालेर ठोरीस्थित अस्पताल पुर्याए पनि स्वास्थ्यकर्मीहरूले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको छ।






