उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोमा परी ७ नेपालीको मृत्यु
२३ साउन, सुर्खेत – भारतको उत्तराखण्ड राज्यमा ‘क्लाउड ब्रस्ट’का कारण आएको भीषण बाढी र पहिरोमा परी सात जना नेपालीको मृत्यु भएको छ। मृतक मध्ये पाँच जना जाजरकोटको एकै परिवारका रहेका छन्।
जाजरकोटको कुशे गाउँपालिका–२, डोब्री पिपलधाराका कर्णबहादुर सिंह (४२), मानबहादुर सिंह (४५), रामबहादुर सिंह (४०), रबिन सिंह (१७) र निमबहादुर सिंह (३५) को मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले पुष्टि गरे।
यस्तै, जुम्ला तातोपानी गाउँपालिका–कुडारीका जनकबहादुर शाही र रुकुम पश्चिमका एक पुरुष (मानबहादुर सिंहका ज्वाइँ) पनि घटनामा मारिएका छन्।
घटनामा मानबहादुर सिंहका छोरा नवीन सिंह भने बाँच्न सफल भएका छन्। उनका अनुसार, वर्षाका कारण काम रोकिएपछि उनीहरू बजारमा खाजा खान गएका थिए। नवीन क्यारेमबोर्ड खेलिरहेका बेला बाढी आएको र बजार नै बगाएको देखेका थिए।
धान रोपाइँ सकिएपछि सिजनअनुसार रोजगारीका लागि असार–श्रावणमा उत्तराखण्ड गएका उनीहरूलाई बाढीले बगाएको हो। अझै केही नेपाली बेपत्ता रहेको र खोजी तथा उद्धारका लागि कूटनीतिक पहल आवश्यक रहेको अध्यक्ष बस्नेतले बताए। भारत सरकारले घटनास्थल आसपासको इन्टरनेट बन्द गरेकाले सम्पर्कमा कठिनाइ भएको पनि उनले जानकारी दिए।






