सप्तरीमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, राजविराजमा प्रदर्शन चर्कियो

   २२ श्रावण २०८२, बुधबार १४:१५  

२१ साउन, जनकपुरधाम। सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएपछि राजविराजमा स्थानीयले विरोध प्रदर्शन चर्काएका छन्।

बिहान १० बजेदेखि जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि टायर बाल्दै प्रदर्शनमा उत्रिएका स्थानीयले घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्।

गए राति भारत तर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर लालु यादव गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार, राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि चार राउन्ड हवाई फायर गरिएको थियो।

उक्त घटनामा यादवको बायाँ तिघ्रामा गोली लागेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई सघन उपचारका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल ल्याइएको भए पनि राति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

तर स्थानीयबासीले प्रहरीको गोली निर्दोष व्यक्तिमाथि लागेर ज्यान गएको दाबी गरेका छन्। उनीहरुले तस्करी नियन्त्रणको नाममा प्रहरीले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

यसैबीच, मृतक यादवको शव अस्पतालमै राखिएको छ। प्रहरी र पीडित परिवारबीच मुचुल्का तयार गर्ने विषयमा सहमति नजुट्दा पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन। डिएसपी बस्नेतका अनुसार, आफन्तले घटनास्थलको मुचुल्का गर्न सहमति जनाएपछि मात्र पोस्टमार्टम प्रक्रिया सुरु गरिनेछ।

प्रदर्शनका कारण राजबिराज बजार क्षेत्रमा तनावको स्थिति सिर्जना भएको छ भने सुरक्षा सतर्कता कडा पारिएको छ।