गौरको शिवालय पोखरीमा वृक्षारोपण तथा सरसफाइ, दुर्लभ फूलका बोट रोपियो

   १२ श्रावण २०८२, आईतवार १३:०५  

११ साउन, गौर । रौतहटको गौर नगरपालिका–१ स्थित ऐतिहासिक शिवालय पोखरीमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न भएको छ।

गत दुई सातादेखि सञ्चालनमा आएको अभियान अन्तर्गत हिजो साँझ शिवालय पोखरी परिसरमा ३० वटा दुर्लभ, महँगो र आकर्षक फूलका बिरुवा रोपिएको छ। अभियान राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बजरंगी गुप्ताको नेतृत्वमा सञ्चालन भएको हो।

अभियानका संयोजक गुप्ताका अनुसार ती बिरुवाहरू सौन्दर्यका हिसाबले विशेष छन् र वातावरणीय सन्तुलनका लागि पनि उपयोगी हुनेछन्। वृक्षारोपण निकै व्यवस्थित ढंगले गरिएको र पोखरी वरिपरि हरियालीको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य लिएको गुप्ताले जानकारी दिए।

यस अभियानमा स्थानीय समुदायका साथै नगरका युवा, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी तथा पेशागत कर्मचारीहरू समेत सक्रिय रूपमा सहभागी भएका छन्। पोखरीको सफाइ अभियान अन्तर्गत वरिपरिका झारझारी फालिएको, फोहर व्यवस्थापन गरिएको र प्राकृतिक सौन्दर्य कायम राख्ने काम गरिएको छ।

स्थानीयवासीले अभियानको खुलेर समर्थन गरेका छन्। उनीहरूका अनुसार शिवालय पोखरी धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल हो, जसको संरक्षण र सौन्दर्यकरण अत्यन्त जरुरी थियो। गुप्ताको पहलमा सुरु भएको यो अभियानले गौरको सार्वजनिक स्थल संरक्षणको उदाहरणीय अभ्यास सुरु गरेको भन्दै सराहना गरिएको छ।

आगामी दिनहरूमा पोखरी परिसरलाई हरियाली युक्त, स्वच्छ र पर्यटकीय दृष्टिले उपयुक्त स्थल बनाउने लक्ष्य रहेको आयोजकहरूले बताएका छन्। साथै, अभियानलाई अझ फराकिलो बनाउँदै अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना रहेको गुप्ताले जनाए।

यस अभियानले युवाहरूलाई समाज सेवातर्फ प्रेरित गरेको र गौर नगरमा सकारात्मक परिवर्तनको संकेत दिएको स्थानीय अगुवाहरूको भनाइ छ।