रौतहटमा करेन्ट लागेर २ किसानको मृत्यु

   ८ श्रावण २०८२, बुधबार १५:५०  

७ साउन, रौतहट । धान खेतमा सिचाईका लागी विद्युतिय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ ।

रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका २ जमुनियाका ४२ वर्षि मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षिय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।

धान खेतमा सिचाईका लागी मोटरबाट पानी हाल्ने क्रममा गए राति मोक्तार देवानलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी गरुडामा रहेको ग्राण्डी अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताए ।

यसैगरी आज बिहान ७ बजेको समयमा आफ्नो खेतमा सिचाई गर्ने क्रममा रामबाबु मुखियालाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

पछिल्लो समय रौतहटका सिचाईका क्रममा करेन्ट लागेर ज्यान जाने घटना बढेको छ ।