निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार
६ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा मुछिएका निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजकुमार गुप्तासँग मंगलबार पनि सोधपुछ गरेको छ।
सूत्रका अनुसार अख्तियारले गुप्ताको आवाज नमुना (भ्वाइस सेम्पल) संकलन गरेर हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग वैज्ञानिक परीक्षणमार्फत तुलना गर्ने योजना बनाएको छ। यसका लागि मंगलबारकै दिन उनको अडियो रेकर्ड लिइएको हो।
मन्त्री गुप्ताले कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवासँग सम्बन्धित विषयमा एक कथित ‘बिचौलिया’सँग गरेको संवाद सार्वजनिक भएपछि चौतर्फी दवाबका बीच राजीनामा दिएका थिए। उक्त संवादमा घुससन्दर्भमा छलफल भएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन्।
यसअघि सोमबार उनीसँग बयान लिने तयारी गरिएको भए पनि सो प्रक्रिया सारेर मंगलबार सोधपुछ थालिएको अख्तियार स्रोतले जनाएको छ। अनुसन्धान अधिकृतको टोलीले अडियो प्रकरणबारे विस्तृत सोधपुछका साथै अन्य अनुसन्धान प्रक्रिया पनि अगाडि बढाउने तयारी गरेको छ।
अख्तियारले अब वैज्ञानिक विश्लेषणमार्फत सार्वजनिक अडियो मन्त्री गुप्ताकै हो वा होइन भन्ने पुष्टि गर्नेछ। यससँगै उनीमाथिको अनुसन्धानले नयाँ मोड लिने देखिन्छ।






