मकवानपुरका सीडीओ र एसपीविरुद्ध जनप्रतिनिधिको आन्दोलन

   ५ श्रावण २०८२, आईतवार १२:५९  

४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काविरुद्ध सडकमा उत्रिएका छन ।

उनीहरूले प्रशासन र प्रहरीले जनप्रतिनिधिमाथि भएको आक्रमणको दोषीलाई एक महिनासम्म पनि पक्राउ गर्न नसकेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। जनप्रतिनिधिहरूको नेतृत्वमा अहिले जिल्ला प्रशासन कार्यालयमै वडाका सेवा सञ्चालन गर्दै विरोध कार्यक्रम सुरु गरिएको छ।

हेटौंडा उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले भने, “वडामा बस्न असुरक्षित महसुस भएकोले अब प्रशासन कार्यालयबाटै काम गर्ने निर्णय गरेका छौं। सेवा रोक्दैनौं, तर यहीँबाट जनतालाई सेवा दिनेछौं।”

न्यौपानेमाथि असार ४ गते कार्यालयमै चार जनाको समूहले आक्रमण गरेको थियो। उनले राप्ती किनारतर्फको सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध पहल थालेपछि त्यसको प्रतिक्रिया स्वरूप आक्रमण भएको हो। टाउकोमा गम्भीर चोट लागेका न्यौपानेले घटना भएको एक महिना बित्दा पनि दोषी पक्राउ नपर्नु प्रशासन र प्रहरीको “नालायकीपन” भएको बताए।

उनले भने, “प्रहरी र प्रशासनले सात दिनभित्र कारबाही गर्छौं भनेको थियो। तर अहिले एक महिना बितिसक्यो। न्याय पाउन जनप्रतिनिधि आफैँ संघर्ष गर्नुपरेको छ भने सर्वसाधारणको अवस्था के होला?”

वडा अध्यक्षहरू हिजोदेखि प्रशासन कार्यालय परिसरमै टेबल राखेर सेवा दिइरहेका छन्। उनीहरूले सुरुवाती दुई दिन यहीँबाट सेवा दिने र त्यसपछि थप आन्दोलनको घोषणा गर्ने बताएका छन्।

हेटौंडा-१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले भने, “जनप्रतिनिधि असुरक्षित छन्। एक महिनासम्म आक्रमणकारी पक्राउ नहुनु लज्जास्पद कुरा हो। यस्तो प्रहरी र प्रशासनबाट जनताले के सुरक्षा पाउँछन्?”

मकवानपुर प्रहरीका अनुसार घटनामा संलग्न एक जना रुम्बा थरका युवकलाई केही दिनअघि नियन्त्रणमा लिएर परीक्षा दिन पठाइएको र पछि उनी हिरासत मुक्त भएका थिए। डिएसपी श्यामु अर्यालले अन्य आरोपितहरूको खोजी जारी रहेको बताए।

उनले भने, “हामी लगातार फिल्डमा खटिरहेका छौं। उनीहरू लुकेर बसेको सम्भावित ठाउँमा सर्च अपरेसन चलिरहेको छ। तर भागिरहेको कारणले पक्राउ गर्न ढिलाइ भइरहेको हो।”

जनप्रतिनिधिहरूको आक्रोश दिन प्रतिदिन चुलिंदै गएको छ। घटनाका दोषीलाई चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउन नसके आन्दोलन अझ उग्र हुने चेतावनी दिइएको छ।