रकम मागेको अडियो सार्वजनिक भएपछि सई बैधनाथ दास निलम्बनमा

   ३ श्रावण २०८२, शुक्रबार १५:५६  

२ साउन, रौतहट । तस्करसँगको लेनदेनको अडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत प्रहरी सई बैधनाथ दासलाई निलम्बन गरिएको छ।

सई दासले तस्करसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि शुक्रबार बिहानैदेखि प्रहरी संगठनभित्र अनुसन्धान सुरु गरिएको थियो। प्रहरी जवान सन्तोष यादवमार्फत १८ हजार रुपैयाँ माग गरेको प्रमाण अडियोमा बाहिरिएको हो। अडियोमा दासले तस्कर राजिव यादवको तस्करीको कार्य समाधान गरिदिने सर्तमा रकम मागेको आवाज स्पष्ट रूपमा सुन्न सकिन्छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले दासमाथि अनुशासनको कारबाहीका लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पठाएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले सई दासको निलम्बन सिफारिस गरिएको पुष्टि गरेका छन्। उनले भने “शुक्रबार बिहान तस्कर र सई दासबिचको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन दासलाई तत्काल निलम्बनको सिफारिस गरिएको हो। उनको स्थानमा अर्को सई पठाउने तयारी भइरहेको छ।”

यस घटनाले प्रहरी संगठनभित्रको पारदर्शिता र जवाफदेहिता माथि प्रश्न उठाएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुशासनको सख्त पालन गर्ने प्रतिबद्धता गर्दै तत्काल कारबाही अगाडि बढाएको जनाएको छ।