वडा अध्यक्षको घरमा चोरी
३२ अषाढ, रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. १ का वडा अध्यक्षको घरमै रहेको पसलमा गएराति चोरी भएको छ ।
वडा अध्यक्ष लालबाबु चौधरीको गौर २ भन्सार रोडमा रहेको उनको जुताचप्पल पसलमा चोरी भएको हो । मुख्य सडक सँग जोडिएको पसलमा राति अज्ञात व्यक्तिहरुले पसलको सटको ताल्चा काटेर पसलमा रहेको २ लाख ६० हजार नगद चोरेको वडा अध्यक्ष लालबाबु चौधरीले बताए । पसलमा रहेको सिसिटिभी समेत चोरहरुले आफु सँगै लगेका छन ।
चोरीको घटना भएको पसलबाट नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी दुई सय मिटरको दुरीमा रहेको छ । यहि स्थानमा पूर्व प्रधानमन्त्री नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल समेतको घर रहेको छ ।
पछिल्लो समय रौतहटका चोरीका घटनाहरु बढेको स्थानियले बताएका छन । प्रहरीको गस्ती तथा निगरानी कम भएपछि पसल तथा सवारी साधनको चोरी बढेको हो । गौरबाट मोटरसाइकल तथा पसल फुटाएर नगद चोरी गर्ने क्रम समेत बढेको स्थानियले बताएका छन । प्रहरी प्रशासनले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन नसक्दा अपराधका घटनाहरु वृद्धि भएको वडाअध्यक्ष चौधरीले बताए ।
नगरक्षेत्रमा चोरीका घटना बढनुले गौरको सुरक्षा व्यवस्था कमजोर रहेको पुष्टी भएको गौर नगरपालिकाका मेयर शम्भू साहले बताए । मोटरसाइकलका साथै घर पसलको ताल्चा फुटाएर चोरी हुनु अहिले सामान्य घटना जस्तो बनेको उनले बताए । जिल्ला प्रहरी कार्यालयलाई गम्भीर बनेर यस्ता घटनाहरु रोक्न ठोस पहल गर्नुपर्ने उनको धारणा छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटले भने चोरीको सो घटनाको छानबिन गरिरहेको जनाएको छ ।






