लागू औषध सहित दुई जना पक्राउ
२२ असार, रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलशैया–सिम्री भित्री सडकखण्डमा लागु औषधसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार साँझ ६ः१५ बजे सशस्त्र प्रहरी बल, नेपाल फर्वाड सुरक्षा बेस जंगलशैया रौतहटबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका–८ का १८ वर्षीय नव बहादुर वाइवा (माईला) र अर्का १९ वर्षीय दावा योञ्जन रहेका छन्।गस्ती टोलीले उनीहरुको साथबाट झोलामा लुकाई छिपाई राखिएको विभिन्न लागु औषध बरामद गरेको छ। बरामद गरिएका लागु औषधमा ट्रामोल ५० एमएल, नाइट्राजेपाम ट्याब्लेट १० ग्राम (१४० पिस), नेटजेकेयर १० ग्राम (५ पिस), नूफिन इन्जेक्सन १० ग्राम (५ पिस), डायजेपाम १ थान, र फेनेर्गन १ थान रहेका छन ।
पक्राउ परेका दुबै जनालाई लागु औषधसहित थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।






