बारामा ८ वर्षीय बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ

   १९ जेष्ठ २०८२, आईतवार १६:५२  

१९ जेठ, वीरगञ्ज । बारामा ८ वर्षीय एक बालिकाको सामूहिक बलात्कार गरिएको घटना प्रकाशमा आएको छ । बाराको प्रसौनी गाउँपालिकाकी – ८ वर्षीय बालिकामाथि जेठ १३ गते राति १० बजेतिर सामूहिक बलात्कार भएको भए पनि घटना अहिले मात्रै प्रकाशमा आएको हो ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको परिचय प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितले घटना १३ गते रातिको भए पनि घटनाबारे प्रहरीलाई जेठ १४ गते मात्रै खबर भएको बताए ।
स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी बालिकामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको उनले जानकारी दिए । पीडित बालिकालाई उनका अभिभावकले वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि उपचारका क्रममा बलात्कारको पुष्टि भएपछि मात्रै प्रहरीमा खबर गरिएको उनले बताए ।

डिएसपी पण्डितले भने, ‘घटना जेठ १३ गते रातिको भए पनि प्रहरीलाई भने जेठ १४ गते बिहान मात्रै अस्पताल प्रशासनबाट खबर गरिएको हो ।’ पीडित बालिकाको अहिले वीरगञ्जको नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार जारी रहेको उनले बताए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिइसकेको र उनिहरूविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेको उनले बताए ।

प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहरू नाबालिग रहेकाले उनीहरूको पहिचान खुलाउन नमिल्ने डिएसपी पण्डितको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएकाहरूको पहिचान नखुलाए पनि उक्त घटनामा संलग्न रहेको आरोपमा पीडित बालिकाकै नातामा काका पर्ने एक व्याक्ति पनि प्रहरीको हिरासतमा छन् ।

घटना के हो ?

बालिकाको घरसँगै जोडिएको नातेदारको घरमा जेठ १३ गते छोरीको बिहे थियो । त्यसको अघिल्लो दिन जेठ १३ गते राति बिहेको घरमा कथामटकोर (बिहेको अघिल्लो दिन हुने विधि) थियो । जेठ १३ गते राति कथामटकोरको पूजापाठको विधि सकिएपछि भोज सुरु भयो । भोज खाएर छरछिमेककाहरू घर फर्किन थाले ।

त्यसबेला करिब रातिको १० बजेको थियो । पीडित भनिएकी बालिका घर छेउको धारामा पानी भर्न गएकी थिइन् । त्यही बेला केही व्यक्तिहरूले उनको हात समातेर धारा छेउकै मकैवारिमा लगे । मकैवारिमा बालिकामाथि तीन जनाले पालैपालो बलात्कार गरे । बालिका अचेत भइन् । होस् खुलेपछि उनी लरखराउँदै घर तर्फ आइनन् । घर छेउको आँगनमा पुग्ने बित्तिकै उनी फेरि अचेत भएर लडिन् ।

त्यसपछि उनका अभिभावकले उनलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगे । त्यहाँ बालिकाको योनीबाट रगत बगिरहेको अवस्थामा चिकित्सकले देखेपछि घटना शङ्कास्पद भएको हुनसक्ने आकलन गरेर उपचारका लागि अन्यत्र लैजान सुझाए । त्यसपछि अभिभावकले प्रहरीलाई समेत खबर नगरी बालिकालाई उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरे ।

मेडिकल कलेजमा उनको उपचार सुरु गरियो । त्यसक्रममा बालिकाको बलात्कार भएको पुष्टि चिकित्सकले गरेपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको बुझिएको छ । अस्पतालमा पुगेर प्रहरीले बालिकालाई वीरगञ्जकै नारायणी अस्पतालमा लगेर भर्ना गरेको छ । अहिले ती बालिकाको नारायणी अस्पतालमै उपचार जारी छ ।

नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले पीडित बालिकाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए । डा. सिंहले भने,‘ सुरुमा अस्पतालमा ल्याइएका बेला गहिरो घाउ थियो । त्यसका कारण माइनर अप्रेसन नै गर्नुपर्‍यो । अहिले भने अवस्था सुधारोन्मुख छ ।’