एमाले धनुषाको अधिवेशन भोलिसम्मका लागि स्थगित

   २३ बैशाख २०८२, मंगलवार १७:१४  

२३ वैशाख, जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ ।

दुई पक्षबीच झडप भएपछि अधिवेशन भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।

अन्तिम मतदाता नामावलीमा नाम प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो । झडपमा केही एमाले कार्यकर्ता घाइते भएका छन् । एमाले सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबीच झडप भएको हो । झडपका क्रममा एक अर्कालाई रड प्रहार गरेका हुन् ।

रड प्रहारबाट राजन यादव, सत्यनारायण महासेठ र महेश दासको टाउको फुटेको छ । अन्य कैयौं कार्यकर्तालाई सामान्य चोट लागेको छ ।

अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ । भोला यादव रघवीर महासेठ पक्षका छन् भने लक्ष्मीनारायण यादव केन्द्रीय सदस्य उमाशंकरहरिया मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पक्षका हुन् ।