गौरमा अवैध बोर्डिंग स्कूलको विगविगी

   १० बैशाख २०८२, बुधबार १२:२७  

१० वैशाख, रौतहट । नयाँ शैक्षिक सत्रको शुरुवात सँगै अवैध रुपमा खुलेका बोर्डिंग स्कूलहरुले यस वर्ष पनि अभिभावक ठग्न शुरु गरेका छन ।
शिक्षाको क्षेत्रमा ७७ औं स्थानमा रहेको रौतहटमा अवैध विद्यालयहरुलाई नियमन गर्न सकिएको छैन ।
नेपाल सरकारको अनुमती नै नलिएर बिना दर्ता खोलिएका नयाँ विद्यालयहरुले अभिभावकलाई झुक्याउदै भर्ना अभियान चलाएका छन । गत वर्ष मात्रै खोलिएका एक दर्जन भन्दा बढी बोर्डिंग स्कूलले अनुमति नै नलिएका कक्षामा समेत विद्यार्थी भर्ना लिइ रहेका छन ।
गौरमा संचालनमा आएको कतिपय विद्यालयले गौर नगरपालिका सँग अनुमति नै नलिएर आफुखुशी विद्यार्थी भर्नाको प्रचार प्रसार गरिरहेका छन । शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एक को मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान रहेको छ । यसरी अनुमति नै नपाएका र १, २ कक्षा सम्मको मात्रै अनुमति पाएका विद्यालयले सो भन्दा माथिको कक्षामा विद्यार्थी भर्ना गरि रहदा गौर नगरपालिकाले कुनै ध्यान दिएको छैन ।
गौर नगरपालिकाले एक सूचना जारी गर्दै अनुमति बिना कक्षा संचालनको तयारी गरिरहेको बाल निकेतन आवासिय माध्यमिक विद्यालय लगायत अन्यलाई पनि त्यस्तो कार्य अविलम्ब रोक्न निर्देशन दिएको छ । गौर नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुभाष ठाकुरले अनुमति बगैर संचालनको तयारीमा रहेका विद्यालयहरुलाई कानून बमोजिम कारवाही गरिने बताएका छन ।
विद्यालय शिक्षा नगरपालिकाको कार्यक्षेत्र भित्र परे पनि अवैध निजी विद्यालयलाई कारवाही गर्न रौतहटका कुनै पनि नगरपालिकाले चासो देखाएको छैन । कोचिङ्गको नाममा विद्यालय संचालन गरिरहेका बोर्डिंग स्कूलहरुलाई समेत नगरपालिकाले कारवाही गर्न सकेको छैन ।
गत वर्ष पनि सूचना मात्रै प्रकाशित गरेरको नगरपालिकाले यस वर्ष पनि शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ विपरीत अवैध रुपमा सँचालनमा रहेका यस्ता विद्यालयहरुलाई तत्काल कारवाही गर्नु पर्ने माँग निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याबसनले गरेको छ ।
रौतहट जिल्ला भरी नै अवैध रुपमा दर्ता नै नभएर संचालमा आएका निजी विद्यालयहरुले विद्यार्थीको भविष्य र अभिभावको रकम समेत ठगि रहेका छन । नियमनकारी निकायहरु सुस्त हुदा र कारवाही नहुदा प्रत्येक वर्ष दर्ता नभएका नयाँ विद्यालय संचालनमा आउने क्रम रोकिएको छैन ।