छठको तयारी अन्तीम चरणमा, महापर्वको आज पहिलो दिन
२० कार्तिक, रौतहट । तराईवासी हिन्दुहरुको सबै भन्दा ठूलो र पवित्र पर्व छठ पूजाको तयारी रौतहटमा अन्तिम चरणमा पुगेको छ । एकदमै कडा धार्मिक नियमपूर्वक आस्था र विश्वासका साथ मनाईने चार दिवसीय यो पर्व आज बाट शुरु भएको हो ।
हिन्दु धार्मिक मान्यताको आधारमा यो पर्व वर्षमा दुई पटक कार्तिक र चैत्रमा निष्ठापूर्वक मनाइन्छ । कार्तिक शुक्ल चतुर्दशीका दिन देखी शुरु हुने सूर्य उपासनाको यस चाड लाई तराई तथा मिथिलांचल क्षेत्रमा महापर्व पनि भनिन्छ ।
छठ पूजाको आज पहिलो दिन व्रतालुहरु नुहाइ धुवाइ गरी शुद्ध भई पूजाका साम्रागी तयार गरी रहेका छन । आजको यो दिनलाई स्थानिय भाषामा नहाय खाय (नुहाएर चोखो खाने) भन्ने गरिन्छ । छठ व्रत बस्ने बस्ने महिलाहरुले आज चोखो अरवा चामलको भात, चनाको दाल, फर्सी, लौकाको तरकारी खाने गर्छन ।
दोश्रो दिन अर्थात भोलि बुधवार व्रतालुहरुले खरना मनाउने छन जसमा व्रतालुहरु निर्जल रही बेलुका माटोको चूल्होमा खिर र रोटी पकाई भगवान लाई चढाएर त्यही प्रसाद खाने छन र त्यसछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत शुरु हुनेछ । यस अवधिमा व्रतालुहरु पानि समेत नखाई सूर्य भक्तिमा लीन भइ बस्छन ।
महापर्व छठ अन्तर्गत बिहिवार बेलुका अस्ताउदै गरेको सूर्यलाई अर्घ दिइने छ भने शुक्रवार बिहान उदयमान सूर्य लाई विधि पूर्वक अर्घ दिए पछि चार दिनको यो लोकआश्थाको महापर्व विधिवत रुपमा सकिने छ ।
छठका कारण रौतहटका प्रमुख तथा ग्रामिण बजारहरुमा समेत चहलपहल बढेको छ । कपडा, खाद्यान्न तथा फलफुलका पसलहरुमा ग्राहकको भिड देखिन्छ । यसै गरी घर भन्दा टाढा बाहिर रहेका परिवारजनका सदस्यहरु पनि घर फर्किने क्रम शुरु भएको छ । छठ पर्वले गर्दा रौतहटका प्रमुख बजारहरु चन्द्रनिगाहपुर, गरुडा, कटहरीया, शिवनगर र सदरमुकाम गौरमा व्रतालुहरुको चहलपहल निकै बढेको छ ।






