गौरको मेलामा प्रशासनको विभेदपूर्ण व्यवहार
९ रौतहट, कार्तिक । शान्तीसुरक्षाको नाममा जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा संचालनमा रहेको मेलामा साँझ ६ बजे सम्मको समयसिमा तोकेको छ ।
दशैं तिहार रमाइलो मेला नाममा एभरेष्ट इभेन्ट म्यानजमेन्टले गौर नगरपालिकाको अनुमतिमा संचालन गरेको मेलामा प्रशासनले समय सिमा भन्दै बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म मेला संचालन गर्न निर्देशन दिएको छ । मेला महोत्सव संचालनको अनुमति दिने निकाय स्थानीय पालिका भए पनि शान्ती सुरक्षाको हवाला दिदै प्रहरीले ६ बजे नै मेला बन्द गराएको मेला समितिका संयोजक रवि मिश्रले बताए ।
“रौतहट जिल्लाका अन्य स्थानमा कहि कतै मेला लाग्दा उद्योग वाणिज्य संघ, राजनितिक दल र सर्वपक्षिय भेलाबाट मेला संचालनको निर्णय गरिएको देखिदैन ।” संयोज रवि मिश्रले भने “तर गौरमा मनोरञ्जनका लागी मेला लगाउन खोज्दा यी सबै प्रक्रियालाई अनिवार्य बनाइयो, हामीले यो सबै प्रक्रिया पुरा गर्दा पनि अब प्रशासनले ६ बजे साँझमा नै मेला बन्द गराएको छ ।”
मेला संचालनको तयारी हुदै गर्दा केही व्यक्तिले आर्थिक लोभका कारण विभिन्न संगठनहरुलाई उचालेर मेला लगाउन नदिने षडयन्त्र समेत गरेका थिए । मेला संचालन गर्न आएकाहरु सँग रकमको माँग गर्दै, आफुले अनुमति दिलाइ दिने प्रस्ताव गरेका व्यक्तिहरुको स्वार्थ पुरा नभए पछि प्रहरी प्रशासनलाई प्रयोग गरेर अवरोध खडा गर्ने र सामाजिक संजालहरु मार्फत भ्रमको खेती समेत गरेको संयोजक मिश्रले बताए ।
प्रहरी प्रशासनले साँझ ६ बजे नै मेला बन्द गराएपछि स्थानीय समेत आक्रोशित बनेका छन । “दिनभरी कामकाज गरेर चाडबाडका बेला बेलुका परिवार बालबच्चासँग मेलामा मनोरन्जन गर्न जाँदा फर्कनु पर्यो ।” गौर ५ का दिपक गुप्ता भन्छन “मेला भनेकै बेलुका राति ९–१० बजे सम्म घुम्न जाने ठाँउ हो । तर कहि नभएको नियम गौरमै देखियो ।” बिहिवार मेला हेर्न आएकाहरु प्रहरीले साँझमै मेला बन्द गराएपछि आक्रोशित हुदै फर्किएका थिए ।
शान्ती सुरक्षाको नाममा प्रहरीले मेला प्रति अन्यायपूर्ण व्यवहार गरिरहेको स्थानियको आरोप रहेको छ । “जिल्लाकै अन्य स्थानमा प्रत्येक वर्ष आर्कषक मेला लाग्छ तर गौरमा वर्षौ पछि लागेको मेलालाई कसरी असफल बनाउने भन्ने षडयन्त्र जारी छ ।” गौरका स्थानिय व्यवसायी पुष्प यादव भन्दछन “उद्योग वाणिज्य संघ र राजनितिक दल सबै मिलेर व्यापार व्यवसाय प्रवर्दनका लागी काम गर्नुपर्नेमा यहाँ उल्टो भएको छ ।” मौलापुर र चन्द्रपुर नगरपालिकाले प्रत्येक वर्ष लगाउने मेलामा समय सिमा नतोकिने तर गौरकै मेलालाई साँझमै बन्द गराउनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।
दशैका बेला दुर्गा भगवति गाँउपालिकामा मेला लाग्दा त्यहाँ कसैले विरोध नगरेको तर गौरमा भने मेलामा पनि तुच्क्ष राजनिति गर्न खोजेको स्थानियले बताएका छन । यस्तो रवैका कारण भोलिको दिनमा कोही पनि व्यक्ति बाहिरबाट गौरमा मेला लगाउन नआउने गौर नगरपालिकाका प्रवक्ता वडा नं. ९ का वडाअध्यक्ष अर्जुन सिंहले बताए । गौर लगायत आसपासका नागरिकहरुको चाहना अनुसार मेलाको समय अवधि राति १० बजे सम्म हुनुपर्ने उनको तर्क छ ।
शान्तीसुरक्षाका लागी मेला आयोजकले बिमा, सुरक्षागार्ड, घेराबार लगायतको व्यवस्था गरेपनि मेला असफल गराउने प्रयास भइरहेको आयोजकको आरोप रहेको छ ।






