बाराको सिम्रौनगढमा फुड प्वाइजनबाट एकै परिवारका तीन बालबालिकाको मृत्यु

   २८ श्रावण २०८१, सोमबार १६:१४  

साउन २८, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ मा फुड प्वाइजनका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

आइतबार अमिरि राम चमारका नाती नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए । खाना खाएपछि केही समयमै नरेश रामका छोरा छोरीहरू ९ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम, र ५ वर्षीय कृष्णदन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो। उनीहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्य क्लिनिकमा लगिएको थियो ।

 

स्वास्थ्य चौकीले अवस्थालाई चिन्ताजनक ठहर गर्दै थप उपचारका लागि अन्यत्र लैजान सुझाव दिएपछि स्थानीय प्रहरी र जनप्रतिनिधिको सहयोगमा बालबालिकाहरूलाई थप उपचारका लागि कलैया अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमा रामको बाटोमै मृत्यु भएको थियो ।

कलैया अस्पतालले बाँकी दुईजना बालबालिकाको अवस्थालाई थप जटिल भन्दै उनीहरूलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पठाएको  थियो ।

नेशनल मेडिकल कलेजमा उपचारको क्रममा गएराती पुष्पा राम र कृष्णदन्दन रामको समेत मृत्यु भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विवेक मेहताले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार, खाना खाएपछि बालबालिकाहरूमा स्वास्थ्य समस्या देखिएकाले फुड प्वाइजनको सम्भावना रहेको बताएका छन् ।

उनले घटनाबारे सिम्रौनगढस्थित प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको र तीनवटै बालबालिकाको पोष्टमार्टम रिपोर्टपछि मात्र थप जानकारी दिन सकिने बताए ।