सौर्य एयर दुर्घटना अपडेट: १५ जनाको शव निकालियो

   ९ श्रावण २०८१, बुधबार १३:५७  

काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा चार जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

उद्धार गरिएका ३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको र एक जनाको केएमसी अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ । केएमसीमा विमानका पाइलट मनिष रत्न शाक्यको उपचार भइरहेको छ ।

अहिलेसम्म १५ जनाको शव निकालिएको र अहिले शव टिचिङ अस्पताल लैजादै गरिएको प्रहरीले जानकरी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार पाइलट मनिष रत्न शाक्यको सकुशल उद्धार गरेर अस्पताल लागिएको छ । विमानमा १७ जना प्राविधिकसहित दुईजना चालक दलका सदस्य सवार रहेको विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

विमानमा रहेका यात्रुहरु मध्ये धेरै जसो एयरलाइन्सकै प्राविधिक कर्मचारी रहेको बुझिएको छ ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटनामा परेको हो । विमानलाई मर्मतका लागि पोखरा लैजान लागिएको बताइएको छ ।

विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थल बन्द भएपछि बाहिरबाट आएका विमानहरूलाई डाइभर्ट गरिएको छ ।