कटहरीयाका मेयर सहित ११ जना विरुद्ध मुद्दा दायर
रौतहट, २० अषाढ । रौतहटको कटहरीया नगरपालिकाका मेयर र उपमेयर समेत ११ जना विरुद्ध अख्तियार दुरुपयोगा अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
कटहरीया नगरपालिका वडा नं. २ मा जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा टायल्स तथा फ्लोरिङको कामका लागि गठन भएको उपभोक्ता समितिले गरेको कम कामलाई बढी देखाएर भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले कटहरीया नगरपालिकाका मेयर अजय प्रकाश, उपमेयर रीता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साह, इन्जिनियरद्धव राजेश कुमार साह र मो. मकसुद आलम, योजना शाखाका प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश बिक्रम साह, मनोज प्रसाद जैसवाल, उपभोक्ता समितिका अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता चौधरी र सचिव योगेन्द्र साह उपर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सामुदायिक भवनमा ७२०.८१ वर्ग. मीटरको काम गरे पनि ११९४.४१ वर्ग.मी काम गरेको कार्य सम्पादन प्रतिवेदन तयार गरी अनुगमन समितिबाट सोही परिमाणको कार्य सम्पन्न भएको भनी प्रतिवेदन दिइ सिफारिसको आधारमा भुक्तानी दिइ भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न सबै उपर आरोपपत्र दायर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले जनाएको छ ।
सो योजनामा नगरप्रमुख अजय प्रकाशले उपभोक्ता समितिलाई १२ लाख ५२ हजार ९ सय ४१ रुपैंया भुक्तानी दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ को (ग) र (ङ) बमोजिम कसुरमा बिगो १२ लाख ५२ हजार ९ सय ४१ रुपैंया कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ ।
अख्तियारले दायर गरेको आरोप पत्रमा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर लगायत सबैलाई कैद र जरिवाना सजायको मागदाबी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन ।






