लाल बकैया नदिमा झोलंगे पुल संचालन
रौतहट, ७ बैशाख । रौतहटको गौरमा रहेको लाल बकैया नदिमा निर्माण भएको झोलंगे पुल आजबाट संचालनमा आएको छ ।
गौर नगरपालिका वडा नं. २ मा निर्माण सम्पन्न भएको सो पुलको उदघाटन पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन । गौर २ को बानेश्वर मन्दीर भन्दा पश्चीम पट्टी रहेको लालबकैया नदीमा सो पुल निर्माण भएको हो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिलेको राजनितिक घटनाक्रममा आफ्नो पार्टीको महत्वलाई सबैले महसुस गरेको बताए । सुदुर पश्चीम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाएको भन्दै नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले भने “हुन त हाम्रो जम्मा ४ सिट मात्रै हो । तर ४ सिट जता गयो सरकार उतै गयो ।” मधेश प्रदेश, गण्डकी, बाग्मती र लुम्बीनि प्रदेशमा पनि आफ्नो पार्टीका मन्त्रीहरु भएको बताउदै उनले कसैले समाजवादी पार्टीलाई कमजोर सोच्न नहुने बताए ।

“हाम्रो पार्टीको भूमिकालाई कसैले अवमुल्यन गर्छ भने, कसैले वेवास्ता गर्छ भने ख्याल गरोस हामी कसैको दास होइनौै ।” नेता नेपालले भने “हामी कसैको दास होइनौ, कसैको इशारामा चल्ने व्यक्ति होइनौ ।”
पुलको निर्माण पछि गौर र ईशनाथ नगरपालिकाका स्थानियलाई छोटो समयमै आवतजावत गर्न सहज हुने पूर्व प्रधानमन्त्री माधव नेपालले बताए । यातायातलाई सुगमता प्रदान गर्नका लागी गौर नगरपालिकाले गरेको कामको उनले प्रशंसा गरेका छन ।
४ करोड २७ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाई २ सय ५९ मिटर रहेको छ । ९३ मेट्रिक टन भारवहन क्षमता भएको सो पुलले एक साथमा ६७१ पैदल यात्रीको भार वहन गर्न सक्ने निर्माण कम्पनीले जनाएको छ ।
पुलको निर्माण पछि वर्षा याममा स्थानियहरुलाई नदि वारपार गर्न सहज हुने गौर नगरपालिकाका मेयर शम्भू साहले बताए । झुलुङ्गे पुल निर्माण पछि ईशनाथ नगरपालिकामा पुग्न १ घण्टा भन्दा बढी समय लाग्ने यात्रा आधी भन्दा कम समयमा गर्न सकिने उनले बताए ।






