मुस्लीम समुदाय ईद मनाउदै
२९ चैत, रौतहट । मुस्लीम धर्मावलम्बिहरुको ठूलो चाड ईद आज हर्षौल्लास पूर्वक रौतहटमा मनाइदै छ । देश भरिका मुस्लीम समुदायहरुले यस पर्वलाई आफ्नो प्रमुख पर्वको रुपमा मनाउने गर्दछन ।
एक (रमजान) महिनाको व्रत पछि आज मुस्लीम समुदायका पुरुषहरु एकै ठाँउमा भेला भई नमाज पढे पछि, एक अर्कालाई अंकमाल गरि शुभकामना आदान प्रदान गरि मिठा परिकारहरु खाएर यो चाड मनाइ रहेका छन ।
मुस्लीमा क्यालेन्डर अनुसार रमजान महिना भरिको रोजा (व्रत) पछि को अल्लाहको प्रार्थना पूरा गरि एकअर्का, नातेदार तथा ईष्ट मित्रको घरमा गएर आजको खास परिकार सेवई खादै रौतहटका मुस्लीम समुदाय खुशीका साथ यो पर्व मनाउदै छन । सदरमुकाम गौरमा रहेका इदगाह तथा मस्जीदहरु, राजपुर, भगवानपुर, भेडियाही लगायतका दर्जनौ मस्जीदहरुमा मुस्लीम समुदायले इदको नमाज पूरा गरेका छन ।
मुस्लीम धर्मका अनुसार अल्लाहको आदेशमा परापूर्वकाल देखी नै १२ वर्ष भन्दा बढीका सबै मुस्लीम पुरुष तथा महिलाहरुले रमजानको महिना भरि सूर्योदय देखी सूर्यास्त नभएसम्म पानि समेत नखाएर व्रत गर्ने गर्छन । आज इदको दिन गरीब, अनाथ तथा असहायहरु पनि कोही भोको नरहुन भनेर दान दिएर मिठो परिकार खुवाइने प्रचलन यो समुदायमा रहेको छ ।






