रिगललाई बाँकी कैद भुक्तानीका लागि तत्काल पक्राउ गर्न सर्वोच्चको आदेश
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो ।
आदेशमा रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन भनिएको छ । यसैगरि, सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न आग्रह गरिएको छ ।
सर्वोच्चको फैसला सुनेपछि भक्कानिएर रोइन् भारती
सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् ।
डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेपछि सर्वोच्चको पेटी ढोगेकी छन् ।






