सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न
१२ कार्तिक, रौतहट । सशस्त्र प्रहरी बलले रौतहटको बंकुलमा सीमावासी सँग सशस्त्र प्रहरी कार्यक्रम सम्पन्न गरेको छ ।
बौधीमाई नगरपालिका ७ बंकुलमा सशस्त्र प्रहरी बलको ११ गण रौतहटले आयोजना गरेको सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रममा बौधीमाई तथा परोहा नगरपालिकाका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, वडा अध्यक्षहरु, र स्थानीयको सहभागीतमाकार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सीमा सुरक्षाको महत्त्व तथा सीमा अपराध नियन्त्रण सम्बन्धि बिषयमा अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा विभिन्न ६ जना वडाध्यक्षहरुले सीमावर्ती ईलाकाका समसामयिक गतिविधिको चर्चा गर्नुका साथै सीमामा खटिएका प्रहरीलाई धन्यवाद दिदै सीमावर्ती ईलाका बाट सवारीसाधन आवतजावतमा सहजता हुनुपर्ने, लागु औषध नियन्त्रणमा थप पहल हुनुपर्ने, पुर्बवतरुपमा छोटी भन्सार कार्यालय स्थापनाका लागि पहल हुनुपर्ने तथा स्थानीयवासी का लागि बिहे, भोज भतेर का लागि आवश्यक सामान र कृषि सामग्री, बीउबिजन, मल जस्ता सामानहरु ल्याउन सहजता हुनुपर्ने जस्ता सुझाबहरु राखेका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठ,परोहा तथा बौधिमाई नगरपालिकाका नगर प्रमुखहरु ले आ–आफ्नो मन्तब्य राख्ने क्रममा बिगतको तुलनामा सीमा सुरक्षामा सुधार भएको र केही कानुनी जटिलता लाई चिर्दै सीमा मा आधुनिक उपकरणको प्रयोग सहित थप व्यवस्थित गर्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर, रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक माधब रेग्मीले नेपालको अन्तर्राष्ट्रिय सीमा ईलाकामा सीमा सुरक्षासँग सम्बन्धित सरोकारवाला निकायहरू र स्थानीय जनतासँग यस प्रकारका कार्यक्रममार्फत समन्वय र सहकार्य गर्दै सीमापार अपराध नियन्त्रणमा प्रभावकारीता ल्याउने र जनतासँग सुमधुर सम्बन्ध स्थापित हुने बताए ।
सीमा ईलाकाको प्रयोग गरि हुने लागु आौषध दुर्व्यसनी तथा अवैध ओसारपसार नियन्त्रणमा स्थानीयवासी बाट रचनात्मक सहयोग को अपेक्षा गर्दै यसप्रकारका कार्यक्रमले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा सहयोग पुग्ने तथा स्थानीयवासी मा सीमा अपराध नियन्त्रणमा जागरुकता समेत हुने बिश्वास उपरिक्षक रेग्मीले व्यक्त गरेका थिए ।






