चुरियामाईमा बस दुर्घटना, ७ जनाको मृत्यु

   ७ भाद्र २०८०, बिहीबार ११:५८  

७ भदौ, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।

बाराको चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा ६ जना भारतीय नगरिकहरू र एक जना नेपाली रहेका छन् ।

मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र एक जना महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

दुर्घटनामा घाइते भएका अन्य १७ जनाको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य भएका केहीको भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

चालकले होटलमा मदिरा पिएका थिए

चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् । होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।

सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।