प्रभु साहलाई कारवाही गर्न ६ दलको गौरमा प्रर्दशन
९ साउन, रौतहट । रौतहटमा मारिएका कुश्ती खेलाडी उपेन्द्र दास वैरागीको हत्यारालाई कारवाहीको माँग गर्दै गौरमा प्रर्दशन भएको छ ।
२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडमा कुस्ती खेलाडी प्रेमपुर गोनाही १ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो । रौतहटका शिक्षक सुनिल यादव, पर्साका काशीनाथ तिवारी लगायतका हत्याको आरोप लागेका अभियुक्तलाई वर्षौ बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै ६ दलिय मोर्चाले आज रौतहटको गौरमा प्रर्दशन गरेको हो ।

आम जनता पार्टीले गत साउन १ गते गौर हत्याकाण्डको आरोपमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्न दबाब दिन जुलुस प्रर्दशन गरे पछि आज जनता समाजवादी पार्टी, नेपाली कागें्रस, एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संयुक्तरुपमा आज जुलुस प्रर्दशन गरेका हुन । ६ दलिय मोर्चाले गरेको प्रर्दशनमा नेता कार्यकर्ताले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई पक्राउ गर्नु पर्ने नारा लगाएका थिए । २७ जनाको ज्यान गएको गौर हत्याकाण्ड प्रभु साहले नै गराएको उनीहरुको आरोप रहेको छ ।
कुश्ती खेलाडी र शिक्षकको हत्यामा प्रभु साहकै हात भएकोले उनलाई तत्काल कारवाही गर्नु पर्ने माँग सहित ६ दलले प्रधानमन्त्री कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन ।

२०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो । गौर नरसंहार भएको १७ वर्ष सम्म पनि दोषीलाई कारवाही नभएको भन्दै आम जनता पार्टीले १ साउनमा प्रर्दशन गरेपछि आज ६ दलले संयुक्त रुपमा साहको विरुद्धमा गौरमा प्रर्दशन गरेका हो ।
गौर घटनाको सम्पूर्ण जिम्मेवारी प्रभु साहले लिनुपर्ने जनता समाजवादी पार्टी रौतहटका अध्यक्ष श्याम बिहारी यादवले बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले शान्तीपूर्ण कार्यक्रम गर्न लाग्दा माओवादीले बिथोलेर द्धन्द्ध निम्ताएको र सो को नेतृत्व प्रभु साहले गरेका कारण घटनाको मुख्य दोषी प्रभु साह रहेको अध्यक्ष यादवले बताए ।






