प्रधानमन्त्री प्रचण्डसहित दुई छाेरीहरुले दिए सीतालाई दागबत्ती
२७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई छाेरीहरुले सीता दाहाललाई दागबत्ती दिएका छन् ।
बुधबार पशुपति आर्यघाटमा सीताको पार्थिव शरीरमा श्रीमान् प्रचण्डसँगै छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका थिए। दागबत्ती दिएर फर्किँदै गर्दा प्रचण्ड फेरि आर्यघाट तर्फ मोडिए र उपस्थित सबैलाई मलिन अनुहार र रसिला आँखासहित नमस्कार गरे। बुहारी बिना मगर अन्त्येष्टी भर भावविह्वल भइन्।

दाहालकाे हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएकाे छ । दाहसंस्कार गर्नुअघि उनलाई राजकीय सम्मान दिइएकाे थियाे । उनकाे अन्तिम संस्कारमा शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए ।

सीताको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । उनी प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट थलिएकी थिइन् ।






