मकवानपुरमा ट्रक दुर्घटना: ३ जनाको शव फेला

   २३ असार २०८०, शनिबार ०९:३०  

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिवार बिहान पौने २ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व-पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी कार्कीका अनुसार चितवनको राप्ती नगरपालिका ८ बस्ने अन्दाजी २८ वर्षीय रिहान रुम्बा तामाङ, गोरखाको गण्डकी गाउँपालिका २ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र मकवानपुरको मनहरी ३ बस्ने २० वर्षीय अमृत प्रजाको मृत्यु भएको हो ।

गएराति हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएर दुवै ट्रक आगलागी भएको थियो ।

यसअघि प्रहरीले ट्रक चालकहरु मात्र घाइते भएको जानकारी दिएको थियो । ट्रकको आगो नियन्त्रणमा लिने क्रममा शव फेला परेको बताइएको छ ।

प्रहरीका अनुसार दुघटनामा ट्रकमा सवार चितवन राप्ती–३ बस्ने अन्दाजी ३५ वर्षीय विवेक तमाङ र मकवानपुरको मनहरी–३ बस्ने अन्दाजी ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।