सिमामा प्रहरीलेनै अवैधरुपमा रकम भित्राएको आरोप

   २३ असार २०८०, शनिबार ०९:२०  

२३ अषाढ, रौतहट । ईलाका प्रहरी कार्यालय बन्जरहाका ईन्चार्ज प्रहरी नायब निरिक्षकले अवैधरुपमा भारतीय बैंकखातामा रकमान्तर गरेको भेटिएको छ ।

रौतहटको बन्जरहमा खटिएका प्रहरी नायब निरिक्षक मदन प्रसाद यादवले भारतीय नागरिकको बैंक खाता प्रयोग गर्दै अवैध रुपमा १८ लाख भन्दा बढी भारतीय रुपैंया रकमान्तर गरेका छन ।

सिमा नाकाको प्रहरी चौकीका इन्चार्ज यादवले भारतीय नागरिकको एसबिआई बैंकमा रहेको खातामा लगभग १८ लाख भारतीय रुपैया अनलाईन ट्रान्सफर गराएर खाताधारीहरु मार्फत उक्त रकम झिकेर नेपाल ल्याएका हुन ।

उनले रकमान्तर गरेको भारतीय खाताहरु भारतीय प्रशासनले छानबीन गर्दै एसबिआई बैंकमा रहेको खाता रोक्का गर्न लगाएपछि यादवको अवैध कारोबारको रहस्य खुलेको हो । उनले आफु ईन्चार्ज भएको क्षेत्रका स्थानियलाई प्रभावमा पार्दै उनीहरुको भारतीय नातेदारहरुको बैंक खाता प्रयोग गर्ने गरेका थिए । सइ यादवकै कारण भारतीय सुरक्षाकर्मीले अनुसन्धानको दायरामा खाताधारीहरुलाई ल्याउन खोजे पछि उनीहरु भागेर नेपालमा रहेका आफ्ना नातेदारलाई खबर गरे पछि सिमाक्षेत्रमा प्रहरीको बदमासी सतहमा आएको हो ।

रौतहटको इशनाथ नगरपालिका १ का ओमप्रकाश साह, उमेश प्रसाद र भारत फुलबरिया ढाकाको राजाबाबु कुमारले जिल्ला प्रशासन कार्यालयमा सई यादवले विश्वास जितेर अवैध कारोबार गरेको उजुरी परेको छ । भारतीय व्यक्ति राजाबाबु संग सई यादवको अडियो संवाद समेत प्रमाणका रुपमा रहेको छ । भारतीय बैंकहरुमा रकम जम्मा भएको म्यासेज सामाजिक संजालको च्याट मार्फत सई यादवले मगाएको प्रमाण समेत स्थानीयहरुले पेश गरेका छन ।

घटनाको फितलो अनुसन्धान

सिमाक्षेत्रमा हुण्डी र श्रोत नखुलेको रकम नियन्त्रण्मा लिने प्रहरी आफुनै यस्तो गम्भीर अपराधमा सामेल भएको उजुरी आए पछि सई यादवलाई अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा तानिएको छ ।

सई सादवले स्थानियलाई पठाएको म्यासेज, फोन रेकर्डहरु ठोस प्रमाणका रुपमा रहदा समेत जिल्ला प्रहरी कार्यालयले यो घटना ढाकछोप गर्ने प्रयास गरिरहेको पीडितको आरोप छ । सई यादवले अवैध रुपमा मगाएका रकमहरुको श्रोत पहिचान गर्नुको सट्टा उनलाई जोगाउन प्रहरीका अधिकारीहरु लागेका छन । सई यादवकै कारण भारतीय खाताधारीहरु पक्राउ पर्ने त्राश भएपछि उनीहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुलाई गुहारिरहेका छन । “आफ्नो कर्मचारीले बदमासी गरेको थाहा पाए पछि रौतहट प्रहरीले दुई दिन सम्म उजुरी नै दर्ता गर्न मानेन ।” उजुरीकर्ता ओमप्रकाश साहले भने “अहिले घटना मिलाउन हामीलाई प्रहरीले फकाउन खोजिरहेका छन । उता हाम्रा भारतीय नातेदारहरुलाई एनआइएका सुरक्षाकर्मीले खोज्न थालेपछि घर छोडेर हिडनु परेको छ ।” भारतीय बैंकमा जम्मा गराएको रकम सई यादवले बन्जरहाकै मान्छे पठाएर भारतीय रकम नेपाल ल्याएर नेपाली मुद्रामा परिवर्तन गराई गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंक र एनआइसी एशिया बैंकमा जम्मा गराएका थिए ।

घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपले अनुसन्धान गरिहरको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले बताए । “आरोपीत प्रहरीलाई नियन्त्रणमा राखेर अनुसन्धान गरिहरेका छौं ।” डिएसपी यादवले भने “जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धान समेतको संयुक्त छानबिन समिति बनेको छ र सो समितिले घटनाको छानबिन गर्छ ।”

प्रमाण र अनुसन्धानको नतिजाले सई यादव दोषी देखिए कानून बमोजिम सजाय हुने उनले बताए । प्रहरी कर्मचारी घटनामा संलग्न भएर आरोपीत भएकोले प्रहरीले उनलाई जोगाउछ वा कारवाही गर्दैन भन्ने कुरा नहुने उनले बताए ।