अत्याधिक गर्मीले रौतहटको जनजिवन प्रभावित

   २३ जेष्ठ २०८०, मंगलवार ०७:४७  

२३ जेठ, रौतहट।अत्याधिक गर्मीको कारण रौतहटको जनजिवन प्रभावित भएको  छ । केही दिन यता शुरु भएको भिषण गर्मीले बजारमा मानिसहरुको चहल पहलमा निकै कमी आएको छ ।

रौतहटमा तापमान ४३ डिग्री सेल्सीयस सम्म पुगि सकेको छ । आउदो शुक्रवार सम्म तापमान कम हुने छाटकाट समेत छैन । मौसम पूर्वाअनुमानका अनुसार यो हप्ताको अन्त्य सम्म तातो हावा र लु को असर कायम रहने छ । रौतहट सहित मधेश प्रदेशका दक्षिणी जिल्लाहरुमा अत्याधिक गर्मिले गर्दा दैनिक जिवन प्रभावित भएको छ ।

अत्याधिक गर्मीका कारण सरकारी कार्यालयहरुमा पनि सेवाग्राहीको सँख्यामा निकै कमी आएको छ । सधै जसो भिडभाड हुने मालपोत कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा पनि सेवाग्राहीको उपस्थीति पातलिएको छ । अति आवश्यक काममा बाहेक दिउसो मानिस बाहिर निस्की रहेका छैनन ।

बिहान सूर्योदय भएको केही घण्टा पश्चात नै गौरमा तापक्रकम ३७ डिग्री हुने गरेको छ । गर्मीले गर्दा बजारहरुमा पनि मानिसहरुको चहलपहल प्राय बेलुका मात्रै हुन थालेको छ । दिनभरी पसलमा बस्दा पनि ग्राहक दुई तिन जना मात्र आउछन स्थानिय व्यपारी जितेन्द्र साहले बताए । उनका अनुसार साँझ तिर अलिकति किनमेल गर्न आउनेको भिड बढछ तर दिउसो भरी ग्राहक कुरेर बस्नु पर्ने अवश्था रहेको छ ।

बेलुका अबेर सम्म पनि रौतहटमा तापक्रम ३८ डिग्री सेल्सीयस रहने गरेको छ । गर्मि चर्किनु र जेष्ठको अन्तिम सम्म पनि पानि नपर्दा किसानहरु पनि मर्कामा परेका  छन । खेतमा लगाएको तरकारी तथा दलहनका बोटहरु सुक्न थालेका छन भने धानको बिउ राख्न पनि पानि नपर्ने हो की भन्ने चिन्ताले किसान पिरोलिएका छन ।

अत्याधिक गर्मीले गर्दा अस्पतालहरुमा बिरामीको चाप बढेको छ । गर्मीका कारण डायरिया तथा ज्वरोका बिरामीहरु बढेको जिल्ला अस्पताल गौरले जनाएको  छ । शरीरमा पानीको कमी भएका कारण बेहोस भएर अस्पताल आउनेको सँख्या समेत बढेको छ ।

अत्याधिक गर्मीका कारण गौर नगरपालिकाले नगरक्षेत्र भित्र रहेको सबै विद्यालयहरुलाई जेठ २६ गते सम्मका लागी बन्द गराएको छ ।

रौतहटको उतरी क्षेत्र चुरे फेदीका विभिन्न स्थानमा पानीका मुहानहरु सुक्न थाले पछि रौतहटको केही स्थानमा खानेपानीको अभाव भएको छ । खानेपानीको अभावहुदा स्थानियबासी पिडित बनेका छन ।