भारु लिन मान्दैनन गौरका व्यापारी
२२ जेठ, रौतहट । केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारुको अवमूल्यन भएको छ भने नेपाली रुपैयाँ बलियो बनेको छ ।
विगतमा गौरमा भारतिय रुपैया हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले भारु हात पर्दा लिन मान्दैनन । यसको कारण हो– भारुको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।
रौतहटको गौरमा हाल १ सय रुपैयाँ भारुको मूल्य १ सय ५० नेपाली रुपैयामा झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाल भारत सिमाक्षेत्रमा दुवै देशको मुद्रामा व्यापारीले सहजै कारोबार गर्ने गर्दछन । नेपाली र भारतीय मुद्राबीचको मूल्यमा भएको फरकलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । गत वर्षको पुस महिना भन्दा अघि भारतका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारुका लागि १६५ देखी १६८ नेपाली रुपैयाँसम्म लिन्थे ।

अहिले गौरका व्यापारीले भारु लिनै मान्दैनन । नेपाली बजारबाट सामान किनेर व्यापार गर्ने नेपाली व्यापारीहरुका लागी भारु रकम निल्नु नओक्लनु हुन थालेको छ । रौतहटका अधिकांश पेट्रोल पम्पले भारु पैसा नलिने भन्दै सूचनानै टाँसेका छन । आफुहरुले आयल निगमसँग तेल खरिद गर्दा बैंक मार्फत नेपाली पैसा जम्मा गराउनु पर्ने र अहिले बजारमा पनि भारतीय रुपैंयामा कारोबार गर्दा घाटा लाग्ने भएकोले पेट्रोल पम्पहरुले भारु नलिने सूचना टाँसेका हुन ।
नेपाली व्यापारीहरुसँग थोकमा सामग्री खरिद गरेर व्यापार गर्ने व्यवसायीहरुले भारतीय रुपैंया सटही गर्न मान्दैनन ।
गत वर्षको पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा भारतीय बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । गत पुस अन्त्य सम्ममा यो ‘बट्टा’ दर घटेर १ सय ६० रुपैयाँमा झ¥यो । त्यसको एक महिना पछि अर्थात माघ देखि आश्चर्यजनक रुपमा भारतीय बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् भारतमा सुरुमा नेपाली १ सय ५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अहिले नेपाली १ सय ५० रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।
नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध गाजाका कारण सिमावर्ति भारतीय बजारहरुमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको जानकारहरु बताउछन । नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थालेकोले भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले भारतीय बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्त्व दिन थालेका हुन ।
यसै गरी चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरुबीच बढेकाले भारतीय बजारमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।
यस बाहेक भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु नेपालमा आइरहेको छ । यसरी नेपालीले सहजै भारु पाउदा उनीहरुले किनमेलका लागि भारतीय बजारमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले भारतमा नेपाली मुद्रा बलियो भएको हो ।






