गौर हत्याकाण्डका दोषीलाई कारवाहीको माँग

   १६ जेष्ठ २०८०, मंगलवार ०७:४४  

१६ जेठ, रौतहट । २७ जनाको ज्यान गएको गौर हत्याकाण्डका मृतकका परिवारजनले दोषीलाई कारवाहीको माँग गर्दै गृहमन्त्रीलाई भेटेका छन ।

२०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।गौर नरसंहार भएको १७ वर्ष सम्म पनि आफुहरुले न्याय नपाएको भन्दै पीडित परिवारजनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटका हुन ।

विश्वमै चर्चित बनेको यो नरशंहारको घटना पछि माओवादीका शिर्ष नेताहरु गौर आएर मारिएकाहरुको शव काठमाण्डौमा लगेर सामुहिक दाहसंस्कार गरेका थिए ।

हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् ।

पछिल्लो समय राष्ट्रिय मानव अधिकार आयोगले यस घटनामा संलग्नहरुलाई कारवाही गर्नु पर्ने प्रतिवेदन सार्वजनिक गरेपनि दोषीहरुलाई कारवाही हुन नसकेको भन्दै पीडित परिवारजनले गृहमन्त्री श्रेष्ठलाई कारवाहीका लागी पहल गर्न अनुरोध गरेका छन । गौर घटनामा मृत्यु भएका नर्मदेश्वर उपाध्यायकी पत्नी रुपसागर उपाध्यायले भनिन “त्यती निर्मम तरिकाले कुटेर मार्दा समेत सरकारले अहिले सम्म पीडित परिवालाई न्याय दिलाउन सकेको छैन ।”

सरकारले गौर हत्याकाण्डका दोषीलाई कारवाही नगरेकाले आफुहरु सर्वोच्च अदालतमा रिट निवेदन दिने योजनामा रहेका अर्का पीडित  रामशरण यादवले बताए । गौर घटनामा मारिएका प्रमोद यादवका बुवा रामशरण यादवले भने “माओवादीमा लागेको मेरो छोरा आमसभामा भाग लिन गौरमा आउदा उसको हत्या भयो । त्यती ठूलो संख्यामा मारिएकाहको परिवारजन अझै न्यायको आशमा बाचिरहेका छन ।” घटनाका वास्तवीक दोषीहरुलाई तत्काल कारवाही गर्नुपर्ने आफुहरुको माँग रहेको उनले बताए ।

के थियो घटना ?

सदरमुकाम गौरमा रहेको राइस मिलको चौरमा मधेशी जनअधिकार फोरम र माओवादी दुवैले मञ्च बनाएर कार्यक्रम गर्न थाल्दा शुरु भएको झडपले विकराल रुप लिदा २७ जनाको ज्यान गएको थियो ।

एकै स्थानमा दुई पक्षको आमसभा हुने भएपछि दुवै पक्षले शक्ति प्रदर्शन गर्दै व्यापक कार्यकर्ता यहाँ ल्याएका थिए । नगर परिक्रमा पछि मञ्चमा पुगेको माओवादी समूह र फोरम समूहले एक अर्काको मञ्च भत्काउन थालेपछि झडप शुरु भएको थियो ।
गौर राइसमिलको उतर पट्टि माओवादी र दक्षिण पट्टि फोरमले कार्यक्रमको लागी मंच बनाएका थिए । प्रहरी प्रशासनको कमजोरीका कारण गौरमा चैत्र ७ गते २७ जनाले ज्यान गुमाएका थिए ।

कहाँ–कहाँ कति मारिएका थिए ?

राइसमिल चौरस्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चार्को मञ्च वरीपरी नै ५ जना कार्यकर्ताहरुको हत्या भएको थियो । गोली लागी घाइते भएकाहरुलाई लाठी, फट्टा र खुकुरीद्वारा निर्मम ढंगले प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा मारिएकी प्रतिमा खातुनको बलत्कार पछि आगो लगाई हत्या भएको थियो ।

त्यसैगरी अर्को निर्मम हत्या हजमनिया बौधिमाई मन्दिर नजिकै भएको थियो । गौरबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सो स्थानमा पूर्व र्सलाही तर्फभाग्दै गरेका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताहरुलाई फोरमका कार्यकर्ताहरुले बाग्मती नदीबाट कब्जा गरेर ल्याई ‘माओवादीलाई बलि दिनुपर्छ’ भन्दै सामूहिक रुपमा ११ जनाको नृशंस हत्या गरेका थिए । उक्त घटनामा हत्या गरिएका रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीको बलात्कार पछि आगो लगाएर हत्या गरिएको थियो ।

त्यसैगरी गौर बजारभित्रै रौतहट गेष्ट हाउस नजिक रहेको एउटा फुसको घरमा लुकी बसेका मोर्चाका कार्यकर्ताहरुलाई बाहिर थुती मारिएको थियो ।

यसै गरी गौरबाट करिब एक किलोमिटरको दूरीमा रहेको लक्ष्मीपुर गाउँमा रमाकान्त चौधरीको हत्या गरेर बाँसघारीमा फालिएको अवश्थामा शव फेला परेको थियो ।

यसैगरी तत्कालीन नेपाली सेनाको भद्रकाली गण रहेको स्थान नजिकको सिर्सिया र मुडवलवाको चौरछेउ अन्य तीन जनालाई मारिएको थियो । अर्को एक जना मोर्चा कार्यकर्तालाई राष्ट्रिय वाणिज्य बैंकको नजिकै हत्या गरी नालामा फालिएको अवश्थामा शव फेला परेको थियो