प्रवेशद्धारमा राष्ट्रीय ध्वजा

   १५ जेष्ठ २०८०, सोमबार १६:१६  

१५ जेठ, रौतहट । नेपाल भारत सिमाना क्षेत्रको गौरमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।

गणतन्त्र दिवसको अवसरमा गौर भन्सार कार्यालय भन्दा दक्षिण तर्फ रहेको क्रान्तीद्धारमा नेपाली राष्ट्रिय ध्वजा फहराइएको हो । गौर नगरपालिकाले निर्माण गराएको टावर लाइटको माथिल्लो भागमा १२ फिट लम्बाईको नेपाली राष्ट्रिय झण्डा राखिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुले सिमानामै राष्ट्रिय ध्वजा देखुन भन्ने उदेश्यले सो झण्डा राखिएको गौर नगरपालिकका मेयर शम्भू साहले बताए । “गणतन्त्र दिवसको अवसरमा आज हामीले एक कार्यक्रम गर्दै झण्डोतोलन गरेका छौं ।” मेयर शम्भू साहले भने “सिमानाबाट नेपाल प्रवेश गर्दा सबैले देशको राष्ट्रिय झण्डा देखुन र अब नेपालमा आएको अनुभुति होस भन्ने उदेश्यले बिजुली बतिका साथ झण्डा राखेका छौं ।”

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, नेपाल प्रहरीका उपरिक्षक वीर बहादुर बुढामगर, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सशस्त्र प्रहरीबलका अधिकारीहरुको उपस्थीति रहेको थियो । झण्डोतोलन पश्चात गौर भन्सार क्षेत्रमा वृक्षारोपण समेत गरिएको छ ।

गौर नगरपालिकाले निर्माण सम्पन्न गराएको सो टावर लाईट र झण्डाका कारण सिमाक्षेत्र आकर्षक देखिएको छ ।