आज आईपीएलको फाइनल
१४ जेठ । क्रिकेटको लामो इतिहासमा महेन्द्रसिंह धोनीले खेलेका ठूला प्रतियोगिताका सबैजसो ट्रफी जित्न सफल भए। आइतवार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा उनले एउटा अर्को र सायद अन्तिम प्रयास गर्नेछन् : इण्डियन प्रिमियर लिग (आईपीएल) ट्रफीका लागि।
आइतवार हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स र धोनीको कप्तानीमा रहेको चेन्नइ सुपर किंग्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। गुजरात लगातार दोस्रो ट्रफीको खोजीमा मैदान उत्रँदैछ।
१६ खेलबाट ८५१ रन जोडेका शुभमन गिलको लय सन्तुलित टिम गुजरातका लागि बलियो पक्ष रहेको छ। टाइटन्सको अलराउण्ड प्रदर्शन र धोनीको सक्षम नेतृत्वको टोलीबिचको प्रदर्शन हेर्न लायक हुनेछ।
लिग चरणमा १४ खेलबाट १० खेल जितेको गुजरात शीर्ष र ८ खेल जितेको चेन्नइले शीर्ष दुईमा स्थान बनाउँदै पहिलो क्वालिफायर्स खेलेका थिए। जसमा चेन्नइले १५ रनको जित निकाल्दै फाइनलमा स्थान बनाउँदा गुजरात भने दोस्रो क्वालिफायर्समा पुग्यो।
दोस्रो क्वालिफायर्समा गुजरातले मुम्बई इण्डियन्समाथि ६२ रनको जित निकाल्दै फाइनलमा स्थान बनायो। उपाधिका लागि गुजरात र चेन्नइ फेरि एकपटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन्।
गुजरातको मिडल अर्डर र चेन्नइका स्पीनर
महीस थिकसेना र रबिन्द्र जडेजाले गुजरातको मिडल अर्डरलाई जम्नै दिएनन्। तर, प्रतियोगिता भरीमा ब्याटिङका लागि ‘फेबरेबल’ देखिएको नरेन्द्र मोदी स्टेडियममा ब्याटरलाई दबाबमा ल्याउने चुनौती बलरलाई हुनेछ।
खासगरी गुजरातमा जमेका शुभमन गिल चेन्नाइका लागि टाउको दुखाइ बन्न सक्छन्। ओपनरद्वय शुभमन गिल र ऋद्दिमान साहलाई दीपक चहरले आउट गराएका थिए।
गिललाई रोक्न नसक्दा दोस्रो क्वालिफायर्समा मुम्बईले नमिठो हार ब्यहोरेको थियो। उक्त खेलमा गिलले ६० बलमा १० छक्का र ७ चौकाको सहायतामा २३३ रनको विशाल स्कोर खडा गर्न सकेको थियो।
गज्जबको संयोग
आईपीएलको फाइनल खेलमा गज्जबको संयोग बनेका छन्। प्रतियोगिताको ओपनिङ म्याच खेल्ने टोलीले नै फाइनल म्याच पनि खेल्दैछन्।
आजको खेलमा जित निकाले चेन्नइलाई आईपीएलको ट्रफी सबैभन्दा धेरै पटक जित्ने कीर्तिमान मुम्बई इण्डियन्ससँग बराबरीको अवसर हुनेछ। हालसम्म चेन्नइले ४ पटक र मुम्बईले सर्वाधिक ५ पटक आईपीएलको ट्रफी जितेका छन्।
अघिल्लो सिजनबाट आईपीएल खेल्न थालेको गुजरात पहिलो सिजनमै च्याम्पियन बनेको थियो। अझ गज्जब विषय भनेको गुजरात लगातार दोस्रो सिजन आईपीएलको फाइनल खेल्दैछ।
फाइनलमा पानी परे के हुन्छ?
आईपीएलमा मुम्बई र गुजरातको महत्वपूर्ण खेलका दिन वर्षाको सम्भावना पनि उत्तिकै छ। टाइम्सनाउ न्युजले आइतवार वर्षाको सम्भावना ६१ प्रतिशत रहेको स्थानीय मौसम विभागलाई उदृत गर्दै लेखेको छ।
जसअनुसार आइतवार साँझ दुई पटक वर्षा हुने सम्भावना जनाइएको छ। वर्षा भएको खण्डमा भारतीय समय अनुसार १२:२६ सम्म डिले हुन सक्छ। यस्तोमा पाँच ओभरको खेल हुनेछ। अन्यथा फाइनल खेलका लागि रिजर्भ डे समेत रहेको छ।
म्याच सम्पन्न गर्ने प्रयासका बावजुत खेल हुन नसके सोमवार खेल जहाँ पुगेको थियो त्यहीँबाट सुरु हुनेछ। तर, यदि टस भएर खेल नभएको खण्डमा भने रिजर्भ डेमा फेरि टस हुनेछ।
र, अघिल्लै दिनको प्रकृया रिजर्भ डे मा पनि लागू हुनेछ। यदि रिजर्भ डेमा पनि खेल हुन नसकेको खण्डमा लिग चरणको शीर्ष टोलीको हैसियतमा गुजरात टाइटन्स च्याम्पियन बन्नेछ।






