आधि मूल्यमा मल लिलाम गराउने भन्सारका ५ सुब्बा
७ जेठ, रौतहट । भन्सार कार्यालय गौरका ५ सुब्बाहरुले १० लाख रुपैंयाको आर्थिक चलखेल गर्दै प्रतिवेदन मूल्य भन्दा आधि मोलमा रासायनिक मल लिलाम गरेको फेला परेको छ ।
जेठ १ गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रौतहटको राजपुर ५ मा रहेको एक गोदाममा भारतबाट अवैध तरिकाले भित्राइएको १३ सय ६ बोरा रासायनिक मल बरामद गरेर आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा बुझाएको थियो । सो मलखादलाई गौर भन्सार कार्यालयका पाँच कर्मचारीहरुले १० लाख २ हजारमा लिलाम गराएका थिए ।
प्रहरीले बरामद गरेर भन्सार पठाए पछि भन्सार कार्यालयका नायब सुब्बा रेवती रोक्का, शिवहरी निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफको मिलोमतोमा प्रमुख भन्सार अधिकृतको अनुपस्थितिमा हतार हतारमा लिलामी प्रक्रिया अघि बढाइएको थियो ।
प्रहरीले बरामद गरेको ८०३ बोरा युरिया, ४७९ बोरा डिएपी र २४ बोरा पोटास को प्रतिवेदनमा २० लाख २ हजार ६० रुपैंया मूल्याङ्कन राखे पनि गौर भन्सारले १० लाख रुपैयाँ मा लिलाम गरेको थियो । कार्यालय प्रमुख बासुदेव नेपाल घर विदामा बसेकै वेला भन्सार कर्मचारीहरुले बिचौलियाको सहयोगमा आर्थिक चलखेल गरेर २ घण्टाका लागी सूचना जारी गर्दै गत सोमवार बेलुका मल लिलाम गरेका थिए ।
भन्सारका नासु रोक्काले कोरम पु¥याउन लिलाम प्रक्रियामा जय माता दी जेनरल सप्लायर्स गौर, जैएमडी सप्लायर्स गौर र जय मा दुर्गा सप्लायर्स राजपुर सहित ३ फर्मलाई मात्र समावेश गराएका थिए । तर तीमध्ये जय माता दी सप्लायर्स गौर र जेएमडी गौरसँग रासायनिक मलको कारोबार गर्ने अनुमति नै नरहेको भेटिएको छ ।
आफु बिदामा बसेका बेला कर्मचारीहरुले गलत तरिकाले लिलामी प्रक्रिया सम्पन्न गराएको भन्सार प्रमुख बासुदेव नेपालले बताए । आफुलाई नायब सुब्बा रोक्काले ’गुड फेथ’ मा लिएर सही गराएको उनको दाबी छ । मल लिलाम प्रक्रियामा भन्सार कार्यालयबाट गल्ती भएको उनले स्वीकार गरेका छन् ।






